चक्रपथको त्रुटि सच्याउन अध्ययन सुरु

२५ माघ, काठमाडौं । चक्रपथको कलंकी(सातदोबाटो(काटेश्वर खण्ड जोखिमयुक्त बनेको छ । पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प छैन । त्यसैले सडकको वारपार हेर्दै ज्यान जोखिममा राखेर यो खण्डमा दैनिक सयौं मान्छे सडक वारपार गर्दैछन् । यो शहरी सडक भएपनि एक्सप्रेस(वे जसरी डिजाइन र निर्माण भएको छ ।

कोटश्वर, ग्वार्की, सातदोबोटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्रै जेब्रा क्रसिङ छ । बाटो काट्ने यात्रुको चाप हेरेर विभिन्न स्थानमा जेब्रा क्रसिङ थप्नैपर्ने आवश्यकता छ । यहाँ पैदलयात्रुका लागि फुटपाथ छैन, साइकल लेन छैन । चीन सरकारले हस्तान्तरण गर्नासाथै सडकमा यो खण्डमा भएका त्रुटिहरु सच्याउने गरी अध्ययन सुरु गर्न लागेको हो ।

माघ १३ मात्रै चीन सरकारले यो खण्ड विस्तारको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

विभागका ट्राफिक सडक तथा ट्राफिक इकाई प्रमुख दीप बाराहीका अनुसार आवश्यक स्थानमा पूर्वाधार थप्ने र गल्ती भएका स्थानमा सच्याउने कामका लागि आइबतारबाट विज्ञको सहयोगमा अध्ध्यन सुरु गर्न लागिएको हो ।

‘सवारी तथा यात्रु सुरक्षाका सवालहरुमा तत्काल के(के गर्न सकिन्छ भन्ने कुरा विज्ञहरुले ल्याउनुहुन्छ,’ बाराहीले भने,’ट्राफिक सुरक्षाका पक्षमा सुधारका लागि के(के गर्न सकिन्छ भनेर आइतबारबाटै अध्ययनको थालनी हुन्छ ।’

विज्ञको सुझाव अनुसार पहिलो चरणमा थप गर्नुपर्ने पूर्वाधारहरुमा ध्यान दिइने बाराहीले बताए । आवश्यक स्थानहरुमा जेब्रा क्रसिङ राख्ने, डिभाइडर राख्ने वा हटाउने लगायत सडकलाई सुरक्षित बनाउन के(के गर्न सकिन्छ भनेर अध्ययन हुने उनले बताए ।

‘सडकलाई सुरक्षित तवरमा सञ्चालन गर्नु पहिलो आवश्यकता छ । त्यसमै केन्द्रित भएर अध्ययन हुन्छ र सुधारको काम थालनी हुन्छ,’ बाराहीले भने,’जतिसक्दो छिटो सडकलाई आवश्यक सुधार गरेर दुर्घटनाको जोखिम घटाउँछौं ।’

यसअघि नै विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले अध्ययन नगरी मर्मतका लागि सडक नभत्काइने बताएका थिए । उनले भनेअनुसार नै अध्ययनको काम थालनी हुन लागेको छ भने अध्ययन रिर्पोटका आधारमा भौतिक पूर्वाधार थप(घट हुने भएको छ । यो सडकको बीचमा मेडियन राख्नुपर्ने पक्षमा विभाग पनि छ ।

२५ माघ २०७५, शुक्रवार १५:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु