जीवन संघर्ष : जन्मभूमि, कर्मभूमि र पितृभूमिको कथा

जीवन संघर्ष पुस्तक कुमार कार्कीको जीवन र अनुभवमा आधारित पुस्तक हो । यस पुस्तकमा बर्मा, थाईल्याण्ड र नेपालको कथा समावेश छ । बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्णा गरे ? नेपाल र नेपाली समाजप्रति उनीहरूको किन धेरै स्नेह र ममता भयो ? कहिल्यै नेपाल नआउने नेपाली मूलका बर्मेलीहरूले कसरी भाषा र संस्कृतिको संरक्षण गरिरहे ? जस्ता अनगिन्ती प्रश्नहरूको उत्तर यस पुस्तकमा पाउन सकिन्छ । बर्मामा हाल करिब तीन लाख नेपाली मूलका मानिसहरू बसोबास गर्छन् । तर बर्माबाट अन्य ठाउँ सर्दै गएका नेपालीहरूको सङ्ख्या बढिरहेकोले यो सङ्ख्या हाल केही घटेको अनुमान गरिन्छ । थाईल्याण्डमा पनि एक लाख भन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गरिरहेका छन् ।

बर्मा र थाईल्याण्ड नेपाली भाषा र संस्कृतिको जगेर्नामा क्रियाशील दुई देश हुन् । यी दुबै देशहरूमा दोस्रो विश्वयुद्ध ताकादेखि नै नेपालीहरूको बसोबास रहँदै आएको छ । यी दुई देशहरूमा नेपालीहरूको मौलिक पहिचान, आफ्नो पहिचान कायम राखिरहन नेपाली मूलका व्यक्ति तथा संस्थाले गरेको कामको बारेमा सामग्रीहरू पनि यस पुस्तकमा समावेश छन् ।
चार भागमा बाँडिएको यस पुस्तकको पहिलो खण्डमा बर्मामा नेपालीहरूको बसोबासको सुरुवातको कथा समावेश छ भने दोस्रो खण्डमा एउटा आप्रवासी कामदारको रूपमा थाईल्याण्डमा गरेका दुःख र संघर्षका कथाहरू समावेश छन् । तेस्रो खण्डमा थाईल्याण्डमा नेपालीहरूको संगठित प्रयासको कुरा समावेश छ भने चौथो खण्डमा नेपालमा महाभूकम्पपछि थाई नेपाली संघको तर्फबाट भएका सेवा र सहकार्यका सामग्रीहरू समावेश छन् । यसै खण्डमा उहाँले आफूले व्यवसाय गर्दा पाएका सफलताका कथा समावेश गर्नुभएको छ ।

कुमार कार्कीको प्रारम्भिक लेखन र मिडियाकर्मी रमेश खड्काको सम्पादनमा तयार भएको यो पुस्तकले बर्मा, थाईल्याण्डमा नेपाली भाषा, संस्कृति र सभ्यता जागरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसअघि बर्मा र थाईल्याण्डमा पुस्तकको विमोचन भइसकेको छ । मिडिया सर्भिस नेपालले यो पुस्तक प्रकाशन गरेको हो ।
पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम सामाजिक कामहरूमा लगाइने भएको छ । आजको कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनको लागि पनि पुस्तकको बिक्रीबाट आएको केही रकम, कुमार कार्कीको परिवार र थाई नेपाली संघको तर्फबाट पाँच लाख रकम आजै हस्तान्तरण गरिएको छ ।

बर्मा र थाईल्याण्डमा रहेका नेपाली मूलका मानिसहरूले नेपाललाई पितृभूमिको रूपमा मान्दछन् । जीवन संघर्ष पुस्तकमा पनि उहाँले जन्मभूमि बर्मा, कर्मभूमि थाईल्याड र नेपाललाई पितृभूमिको रूपमा उल्लेख गर्नु भएको छ । सारांशमा यो पुस्तक कुमार कार्कीको कथा मात्र हैन, हजारौं नेपाली मूलका मानिसहरूको कथा

हो । यसले दुबै देशमा रहँदै आएका नेपाली मूलका मानिसहरूको कथा, संवेदना, खुशी र देशप्रेमको कथालाई बोक्दछ । नेपालका लागि अनागरिक भए पनि बर्मा र थाईल्याण्डका नेपालीहरूले नेपाली समाजलाई एकदमै नजिकैबाट नियालिरहेको तथ्य यस पुस्तकमा उहाँले उल्लेख गर्नुभएको छ ।

कुमार कार्कीको बारेमा

कुमार कार्की हाल थाई नेपाली संघको अध्यक्ष हुनुहुन्छ । यो संघ थाईल्याण्डमा रहेका नेपालीहरूको एउटै मात्र साझा संस्थाको रूपमा रहेको छ । यसमा हाल ८० हजारभन्दा बढी नेपालीहरू सदस्यको रूपमा रहेका छन् । थाईल्याण्डमा सुरुवातमा युवा जागृति संस्थाको नेतृत्वबाट सामाजिक काममा सक्रिय हुनुभएका कुमार कार्की थाई नेपाली संघका संस्थापक–उपाध्यक्ष हुनुहुन्थ्यो । भाषा र संस्कृतिलाई जोगाए मात्र हामी नेपाली रहन्छौँ भनेर करिब ९ वर्षअघि स्थापना भएको यो संघले नेपाली भाषा, संस्कृति र पहिचान संरक्षणका लागि गरेका कामहरू उदाहरणीय छन् । उहाँ थाईल्याण्ड र बर्मामा हुने सामाजिक सेवाका क्रियाकलापहरूमा निरन्तर क्रियाशील हुनुहुन्छ ।
महाभूकम्पपछि नेपालका भूकम्प प्रभावित समुदायमा गएर राहतको काममा क्रियाशील थाई नेपाली संघको तर्फबाट वहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । राहतपछि सिन्धुपाल्चोकको मेलम्ची नजिकै रहेको माझीगाउँमा ४६ वटा घरको पुनर्निर्माण गर्ने कार्यको पनि उहाँले नेतृत्व गर्नुभएको थियो । सिन्धुपाल्चोकमा गरेको यो मानवीय सेवाको कदर स्वरूप राष्ट्रपति कार्यालयले पनि उहाँलाई सामाजिक सेवा सम्मानको घोषणा गरेको छ । उहाँले विभिन्न संस्थाहरूबाट सामाजिक सेवाका लागि विभिन्न सम्मानहरू प्राप्त गर्नुभएको छ । कार्की बर्मा तथा थाईल्याण्डका विभिन्न अरू सामाजिक तथा मानवसेवाका संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ ।

२५ वैशाख २०७५, मंगलवार ०३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु