गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक

काठमाडौं, १९ चैत । गृहमन्त्री रामबहादुर थापाले सन् २०२५ सम्ममा नेपालमा रहेका मठ मन्दिर भत्काएर चर्च बनाउने सूचना पाएको बताएका छन् । तर, उनले कसले मठ मन्दिर भत्काएर चर्च बनाउन लागेको हो खुलाएनन् । यद्यपी नेपालमा जबरजस्त धर्म परिवर्तन गराउने र धार्मिक र जातीय असहिष्णुता फैलाउने कार्य भइरहेको भन्ने चर्चालाई गृहमन्त्री थापाको उक्त भनाइले पुष्टि गरेको छ ।

बहुसंख्यक हिन्दू र मठ मन्दिरको शहर भनेर चिनिने नेपालका मठ मन्दिर भत्काउन खोज्नेकाबारेमा गृहमन्त्री थापाले थप बताएनन् । मठ मन्दिर भत्काएर नेपालमा द्वन्द्व निम्त्याउने खोज्ने त्यस्ता व्यक्तिलाई कस्तो कारबाही गर्ने यसबारे पनि गृहमन्त्री मौन रहे ।

८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गर्न गृहमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने ‘मैले सूचना पाएको छु, सन् २०२५ सम्ममा नेपालमा मठ मन्दिर भत्काएर चर्च निर्माण गरिँदैछ रे ।’

स्वतन्त्र मधेशको कुरा पनि सुनेको बताएका उनले पवद्यमान अवस्थमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न नयाँ कार्ययोजना आवश्यक रहेको बताए ।

तस्करी र दुई नम्बरी धन्दा, हुण्डी कारोबार नियन्त्रण गर्ने दाबी गरेका गृहमन्त्री थापाले काठमाडौँको ट्राफिक जाम अन्त्यका लागी ठूलै धक्का आवश्यक रहेको बताए । ‘गुण्डागर्दी र यातायातको सिन्डिकेट पनि ट्राफिक जामसँग जोडिएको छ’, उनले भने, ‘सिन्डिकेटको अन्त्य जनताको चाहना हो, भ्रष्ट ठेकेदारहरुमाथीको कारवाही जनताको जनादेश हो, यो कसैको व्यक्तिगत चाहनाको कुरा मात्रै हैन।’

सार्वजनिक कार्ययोजनामा मुख्यगरी राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई क्विक सर्भिस डेलिभरी गर्ने उल्लेख गरिएको छ ।

हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने गृहमन्त्री थापाले आफ्नो ८२ बुँदे कार्ययोजनामा उल्लेख गरेका छन् ।

१९ चैत २०७४, सोमवार १३:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु