सूचना प्रविधि निर्माणमा विदेशी लगानीलाई सहजीकरण गरिने
सूचना प्रविधि क्षेत्रका पूर्वाधार निर्माणमा विदेशी लगानीलाई सहजीकरण गरिने भएको छ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२÷)८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सूचना प्रविधिका पूर्वाधारमा विदेशी लगानी सहजीकरण गरिने जनाएको छ।
राष्ट्र बैंकले डाटा सेन्टर, क्लाउड कम्प्युटिङ्ग, रोबिटक्स ल्याब र आर्टिफिसियल इन्टेलिजेन्स एआई लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गरिने उल्लेख गरेको छ।
यसका साथै, त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिनेछ ।
यसैगरी, विद्युतीय भुक्तानी कारोबारलाई थप प्रोत्साहित गर्न चेकमार्फत हुने कारोबार घटाउँदै लैजाने रणनीति अवलम्बन गरिने मौद्रिक नीतिमा उल्लेख छ।
समीक्षामार्फत केन्द्रीय बैंकले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने नीति अघि सारेको छ । यसअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु र साना उद्यममा लागू गरिएको क्षेत्रगत कर्जा सीमाको दायरा विस्तार गरी पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई समेत समेटिने भएको छ।
समीक्षामा हालै स्वीकृत दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिमा उल्लेखित केन्द्रीय बैंकसँग सम्बन्धित कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयन गरिने पनि जनाइएको छ।
१५ फागुन २०८२, शुक्रवार ००:२० बजे प्रकाशित












