नवप्रवेशीका लागि विशेष कार्यक्रम ल्याउने थाहा काठमाण्डौं पत्रकार समाजको तयारी
काठमाण्डौं, ५ चैत्र । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका करिव ७० जना पत्रकार देशका बिभिन्न क्षेत्रमा क्रियाशिल रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रियदेखि क्षेत्रियस्तरमा समेत थाहाका पत्रकारहरुले राम्रो स्थान हासिल गर्न सकेको अध्ययनको निष्कर्ष छ ।
थाहा काठमाडौँ पत्रकार समाजले संस्थाकै सचिव रघुनाथ बजगाँईको संयोजकत्वमा गठन गरेको तथ्याङक संकलन समितिले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै राजधानी काठमाडौसहित देशका बिभिन्न जिल्लामा क्रियाशिल रहेका थाहानगरबासी पत्रकाहरुको संख्या ७० भन्दा बढि रहेको जानकारी दिएको छ ।
२५ को हाराहारीका पत्रकारले यहि पेशालाई जिविकोपार्जनको माध्यम बनाएका छन् ।
१० को हाराहारीमा पार्ट टाईमका रुपमा पत्रकारितालाई निरन्तरता दिइरहेका र अन्य पत्रकारिता अध्ययन गरिरहेकाहरुको समेत संख्या ७० भन्दा बढि रहेको तथ्याङ्कले देखाएको छ ।
थाहा दुईका पत्रकाहरुको संख्या धेरै रहेको पाइएको छ । ९, १०, ११ र १२ मा तुलनात्मक रुपमा कम रहेको पाइएको छ ।
राजधानी काठमाडौँमा मात्र १२ भन्दा बढि क्रियाशिल छन् ।
थाहा नगरपालिकामै रहेका स्थानीय रेडियो र दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा क्रियाशिल पत्रकाहरुको संख्या १५ को हाराहारीमा रहेको जनाइएको छ ।
पत्रकारहरुको क्षमता अभिवृद्धि र गुणात्मक पत्रकारिताका लागि समाजले विशेष कार्यक्रमा ल्याउने अध्यक्ष वैकुण्ठ ढकालले जानकारी दिए ।
पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक, व्यवसायिक ज्ञानका साथै रोजगारीको अवसर सिर्जन गर्नका लागि गृहकार्य भइरहेको ढकालले बताए ।
राजधानीमा सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनसहित, नीजि क्षेत्रका सञ्चारमाध्यमहरुमा कम्युनिकेशन कर्नर उज्यालो, नेपाल एफएम नेटवर्क, र विभिन्न अनलाईनहरुसहितका बिभिन्न पत्रपत्रिकामा थाहाका पत्रकारहरुको संलग्नता रहेको पाइएको छ ।
नेपाल पत्रकार महासंघका जिल्ला शाखा, एसोसियट शाखा, प्रतिष्ठान शाखाहरुमा पनि थाहाको प्रतिनिधित्व उत्साह जनक नै रहेको पाइएको छ ।
५ चैत २०७४, सोमवार ११:०० बजे प्रकाशित














