ग्लोबल एबाकसमा नेपाली विद्यार्थीको उत्कृष्ट
मलेसियाको क्वालालम्पुरमा ‘ग्लोबल एबाकस एन्ड वेदिक म्याथ्स २०२६’ अन्तर्राष्ट्रिय च्याम्पियनसिप सम्पन्न भएको छ। फेब्रुअरी २६ मा आयोजित प्रतियोगितामा नेपाल, भारत र मलेसियाका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम South Asian Development Bank Limited, Ray Foundation, Pacific Alliance Group, बाल विकास एनसीएमएएस प्रालि, Rays Abacus र GuruShree Abacus and Vedic Mathsको संयुक्त आयोजनामा भएको हो।
South Asian Development Bank Limitedका अध्यक्ष डा. जरिफ मेननको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा दातुक डा. एम. सिमी उपस्थित थिए।
सम्बोधनका क्रममा डा. मेननले विद्यार्थीहरूको गति, एकाग्रता र शुद्धताको प्रशंसा गरे।
क्याल्कुलेटरभन्दा छिटो मानसिक गणित समाधान गर्ने क्षमताले आफू प्रभावित भएको उनले बताए। एबाकस शिक्षाले गणितीय क्षमता र अनुशासन विकासमा टेवा पुग्ने उनको भनाइ थियो।
प्रतियोगितामा विभिन्न तह र विधामा प्रतिस्पर्धा गराइएको थियो। नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै धेरै विधामा प्रथम स्थान हासिल गरेका छन्।
जेड–१ लेभलमा केजीएस स्कुलका वाचस्पति ढकाल प्रथम भए। जेड–२ए मा हिमश्रृंखला एकेडेमीका कृष्ण तामाङ र जेड–२बी मा रचना तामाङले पहिलो स्थान हात पारे। एक्स–१ मा संस्कार शिक्षालयका पृथक राई र एक्स–२ मा बाल बाटिका पाठशालाका कृषिव गिरी प्रथम भए।
यसैगरी, एक्स–३ए मा नोबेल स्कुलका अविन आलेमगर, एक्स–३बी मा पाथीभरा एकेडेमीका यसिमन लामा, वाई–१ मा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका अवन महर्जन र वाई–२ मा सभ्यता पाठशालाका सनिप अधिकारी पहिलो भए।
भारतीय विद्यार्थीहरूले पनि उल्लेखनीय सफलता हासिल गरेका छन्। वाई–३ लेभलमा गुरुश्री एजुकेसन एकेडेमीका स्वरन्जिल सन्तोष जाधव प्रथम भए भने वैदिक म्याथ्स च्याम्पियनसिपमा विभिका हिरानी विजेता बनिन्।
आयोजकका अनुसार च्याम्पियनसिपको सफल समापनले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई थप मजबुत बनाएको छ।
२० फागुन २०८२, बुधवार ००:०७ बजे प्रकाशित












