मन्त्रिपरिषद बैठक शुरु, प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे निर्णय हुन सक्ने

मन्त्रिपरिषद बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक शुरु भएको हो ।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनेबारे निर्णय हुन सक्ने बताइएको छ ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत मागेका थिए । उनले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलहरुको बहुमतको सरकार बनाउन दलहरुलाई बैशाख ३० गतेसम्मको समय दिइन् ।

बहुमतको सरकार बनाउने दाबी नपरेपछि प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम ओली नै पुनः प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्रीले फेरि ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन आह्वान गर्न सक्ने बताए । त्यहि संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे मिती तय हुन सक्ने जनाइएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । यसलाई मध्यनजर गरेर समेत संसदको अधिवेशन बोलाउन लागिएको हो । यस्तै आजको मन्त्रिपरिषदको बैठकमा कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ ।

३ जेठ २०७८, सोमवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु