आमहड्तालमा बिभिन्न जिल्लामा झडप, कैयौं घाइते काठमाडौं रिफर

नेकपाको प्रचण्ड माधव पक्षले गरेको आमहड्तालमा बिभिन्न जिल्लामा झडप भएको छ । सयौं प्रकाउ परेका छन् । कैयौं घाइते भएक छन् । घाइतेहरुलाई काठमाडौं रिफर गरिएका छन् ।

प्रदेश नम्बर २ मा मात्रै नेकपाको प्रचण्ड माधव पक्षका ६१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिए ।

प्रदेश २ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८ र सिरहामा २ जनालाई नियन्त्रणमा लिइएको थियो ।

यता जनकपुरधाममा प्रदर्शन गरिरहेकाहरु माथि प्रहरीले हवाईफायरसहित लाठि चार्ज गर्ने क्रममा नेकपाका केन्द्रीय नेता गम्भीर घाइते भएका छन् ।

नेकपा स्थायी समिती सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदीप साहको अवस्था गम्भीर रहेकाले काठमाडौं रेफर गरिएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।

केन्द्रीय सदस्य झाको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीले दमन गरेको भन्दै भोलि बिहान नेकपा धनुषा प्रचण्ड माधव पक्षले जनकपुरमा पत्रकार सम्मेलन गर्ने सचिव दिपक यादवले जानकारी दिए ।

यता, प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ।

केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे ।

आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।

आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ। आमहड्ताल गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरिएको छ । यस्तै देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि खुलेको छ ।

 

२२ माघ २०७७, बिहीवार २१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु