कुलमानलाई उर्जा मन्त्री बनाउनुपर्ने प्रस्ताव पुग्यो ओली-प्रचण्डसमक्ष !

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर बिदा भएसँगै उनको पुनर्नियुक्तिको पक्षमा चर्को आवाज उठेको छ ।
प्राधिकरणमा पुनर्नियुक्ति नगरे उर्जा मन्त्री नै बनाउनुपर्ने जस्ता माग लिएर नागरिकहरू कुलमानको समर्थनमा सडकमा आएका छन् भने सामाजिक सञ्जालदेखि चिया दोकान र चोक चौतारीमा समेत कुलमानको चर्चा छ ।
यो विषयमा सोमवार प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा सामान्य छलफल भएको छ ।
स्रोतका अनुसार प्रचण्डले ‘कुलमानको विषयमा के गर्ने हो ? नागरिकहरु सडकमा कराइरहेका छन’ भन्दै कुरा उठाएका थिए । जवाफमा अध्यक्ष ओलीले ‘अहिले कुलमानको विषयमा कुनै कुरा अहिले नहुने’ बताएका छन् । प्रचण्डले ‘नागरिकहरु उर्जा मन्त्री बनाउनुपर्छ भनिरहेका छन’ भनेर कुरा राखेका थिए ।
ठट्टाको शैलीमा स्रोत भन्छ ,‘कुलमानलाई उर्जा मन्त्री बनाउनुपर्ने प्रस्ताव ओली–प्रचण्डसमक्ष आइपुग्यो । सडकको आवाज सुनिएकै छ त । तर सरकारको काम सरकारले गर्न हो, नागरिक भनेर सडकमा आएका विरोधीका कुराका पछि लाग्न होइन नी ।’
अगुल्टोले हिर्काएको बिरालो बिजुली चम्किँदा तर्सिन्छ भनेझैँ वषांसम्म लोडसेडिङरूपी कालरात्रिका कहाली लाग्दा दिनहरू विताएका नागरिकहरू कुलमानको बहिर्गमनसँगै फेरि मुलुक लोडसेडिङमा फर्कन्छ कि भनेर त्रासमा छन् ।
आफैँले मत हालेर बनेको दुई तिहाइको सरकार भन्दा जनताको आशा, आस्था, विश्वास र भरोसा कुलमानसँग जोडिएको छ ।
परराष्ट्र मन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकार उनीप्रति सन्तुष्ट र सकारात्मक भए पनि कानुनी अवरोध भएको दाबी गरिरहेका छन् भने तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सामाजिक सञ्जालले नियुक्ति दिएको भनेर कटाक्ष गरेका थिए ।
ऊर्जा मन्त्रालयले उनको पुनर्नियुक्तिका लागि गरेको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थन्किएको भनिएको छ । प्रधानमन्त्रीका सल्लाहकारले प्रतिस्पर्धाका लागि तयार रहन चुनौती दिइरहेका छन्।
१२ असोज २०७७, सोमवार २१:५२ बजे प्रकाशित