कोरोनाले थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०० नाघ्यो
कोरोना भाइरस संक्रमणले थप ११ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये ७ महिला र ४ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मृतकको संख्या ४०१ पुगेको छ ।
गत २४ घण्टामा मोरङमा १ जना, रौतहटमा १ जना, सर्लाहीमा १ जना, ललितपुरमा ३ जना, काठमाडौंमा २ जना, मकवानपुरमा १ जना, रुपन्देहीमा १ जना र बाँकेमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
कोभिडको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी काठमाडौं उपत्यकामा ७११ संक्रमित थपिएको जनाएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ५७०, ललितपुर जिल्लामा ५८ र भक्तपुर जिल्लामा ८३ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले १० हजार ३३३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा १ हजार २०४ जनामा पोजेटिभ देखिएको जानकारी दिए ।
उनका अनुसार देशभर सक्रिय संक्रमित १७ हजार १२९ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना र होम आइसोलेसनमा ७ हजार ९७६ जना रहेका छन् ।
हालसम्म देशभर ४५ हजार २६७ संक्रमित डिस्चार्ज भएका छन् । संक्रमणमुक्त दर ७२५ रहेको प्रवक्ता गौतमले बताए । हाल ७ हजार ७३५ जना क्वारेन्टीनमा रहेका छन् ।
हाल १७९ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने भेन्टिलेटरमा ३५ जना रहेका प्रवक्ता गौतमले बताए ।
३ असोज २०७७, शनिवार १९:०१ बजे प्रकाशित





