कोरोनाले बढायो घरभेटीको तनाव : काठमाडौंमा जताततै घर कोठा खाली

केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ । कोठा गरी बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ ।

कोरोना संक्रमणका कारण ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् । कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन् भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन ।

यहीँ भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । अझ काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी रहेको छ । होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खालि गराएका छन् ।

कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अधिकांश घरमा कोठा खाली छन् । काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यका भरी नै एकनासको समस्या रहेको बताउँछन् । अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यकाभर नै सटर र फ्ल्याटहरु ठूलो संख्यामा खाली भएको उनको भनाई छ ।

कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै लड्दै अगाडि बढ्ने प्रयत्न गर्नुपर्ने उनले बताए ।

अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगेपनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ । पछिल्ला वर्षहरुमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरु पीडित बनिरहेका थिए ।

कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए । कहिले घरभेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए । तर, अहिले अवस्था फेरिएको छ । डेरावालहरुले छानीछानी सस्तोमा कोठा लिन पाउँछन् ।

भाडामा बस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्नसमेत समस्या देखिएको छ ।

२६ भदौ २०७७, शुक्रवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु