नेकपा स्थायी कमिटी बैठक सकियो, माधवले पोखे असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्ने आफ्नो अडान कायम रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान ११ बजेपछि जारी बैठकमा आफ्नो भनाइ राख्दै नेता नेपालले दुई अध्यक्षले सहमति गर्दैमा पार्टीका समस्या हल नहुने बताएका हुन् ।
विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनबारे सचिवालयमा राखेको १५ बुँदे प्रस्ताव स्थायी कमिटी बैठकमा पनि पेश गरिएको छ ।
एक स्थायी कमिटी सदस्यका अनुसार नेता नेपालले पार्टीलाई विधिसम्मत चलाउनुपर्ने बारे आफूले उठाउँदै आएको अडान नत्याग्ने बताएका हुन् ।
बैठकको शुरूमा संक्षिप्त सम्बोधन पछि पुष्पकमल दाहाल प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा लगाएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए । ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरिरहेका छन् ।
कोरोना संक्रमणको खतरा रहेको भन्दै बैठक शुक्रवार नै टुंग्याउने तयारी भइरहेको छ ।
असार १० गते शुरू भई पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गने छोटो समयका लागि बसेको थियो ।
२६ भदौ २०७७, शुक्रवार १४:३९ बजे प्रकाशित





