सरकारी अस्पतालले लिएन भर्ना , निजीमा उपचार गर्ने खर्च नहुँदा गर्भवतीको मृत्यु

प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका ६ की ३० वर्षीया विमला ऋषिदेवलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याए । प्रसव पीडामा रहेकी उनलाई अस्पतालले भर्ना गर्न मानेन । उनीहरुसँग निजी अस्पताल लैजान खर्च थिएन ।

मध्यरातमा खर्च जोहो गर्दागर्दै बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको छ ।

सुकुमबासी टोलमा बस्दै आएकी विमलाको परिवारसँग अन्तिम संस्कारका लागि पनि पैसा पनि भएन । शव उठाउनै समस्या भएपछि नेपाली कांग्रेसका प्रदेश १ सचेतक केदार कार्कीले सहयोग गरे र विमलाको अन्तिम संस्कार भयो ।

विमलाकी ९ र ३ वर्षकी दुई छोरी छन् । अढाई वर्षका छोराको एक वर्षअघि खोलामा डुबेर मृत्यु भएको थियो ।

स्थानीय अक्षय सहनीका अनुसार यसअघि दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेकाले तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै कोशी अस्पतालले फिर्ता पठाएको हो ।

ज्याला मजदुरी गरेर जीविका चलाएको आएको ऋषिदेव परिवारसँग निजी अस्पताल जान पैसा भएन । ‘पारिवारिक आर्थिक अवस्था कमजोर थियो । सरकारी अस्पतालले फर्काएपछि उनीहरुको जाने ठाउँ भएन’ सहनीले  भने ।

कांग्रेसका प्रदेश १ सचेतक कार्कीले पनि अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यु भएको बताए । ‘अस्पतालले बिरामी भर्ना गर्दैन् । सरकार नदेखे झै गर्छ,’ उनले भने ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता पठाउन नमिल्ने बताउँछन् । कसैले फिर्ता पठाएको भए छानविन गरी कारबाही गर्ने उनको दाबी छ ।

२६ भदौ २०७७, शुक्रवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु