ईप्रका चन्द्रनिगाहपुरका डीएसपीसहित २० प्रहरीमा कोरोना सङ्क्रमण

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका २० प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ।

ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही र दुई प्रहरी निरीक्षकसहित २० जना प्रहरीको कोरोना रिपोर्ट पोजिटिभ आएको छ।

प्रहरी नायब उपरीक्षक शाहीले आफै यसबारे जानकारी गराउँदै चाँडै निको भएर काममा फर्कने बताएका छन्।

म लगायत यस ई.प्र.का. का २० जना मेरा सहकर्मी प्रहरी साथीहरू (कोभिड १९) बाट संक्रमित भएका छौ ।

हामीलाई विश्वास छ ,धैर्यता ,आत्मविश्वास र स्वास्थ्य सतर्कताप्रति सचेत रहँदै निको भई यही समाजको शान्ति सुरक्षाका लागि यहाँहरुको सेवामा छिट्टै फर्कने छौं, शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको भदौ १८ गते स्वाब संकलन गरिएको थियो। जसको अनौपचारिक रिपोर्ट हिजो राति नै पाए पनि आधिकारिक जानकारी आज विहानमात्र पाएको प्रहरी नायब उपरीक्षक शाहीले देखापढीलाई बताए।

रौतहटमा कोरोना महामारीकै बीचमा भएका विभिन्न आन्दोलन नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालयबाट अग्रमोर्चामा खटिएका प्रहरी र केही अस्वस्थ्य देखिएका प्रहरीहरूको स्वाब संकलन गरिएको थियो। त्यहाँ कार्यरत सबैको स्वाब परीक्षण गरिसकिएको छैन।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगारपुरमा करिब ८० जना प्रहरी कर्मचारी कार्यरत छन्।

सङ्क्रमित प्रहरीहरु कोही होम आइसोलेसनमा बसेका छन् भने कोही कोरोना सङ्क्रमितका लागि बनाइएका आइसोलेसनमा बसेका छन्।

कोरोना महामारीकै बीच दिनहुँजसो यहाँ (रौतहटमा) भइरहने आन्दोलन लगायत अन्य शान्तिसुरक्षाका काममा खटिएका अधिकांशमा कोरोना सङ्क्रमण देखिएको छ। कसैमा गम्भीर समस्या भने देखिएको छैन। चाँडै हामी निको भएर जिम्मेवारीमा फर्कने छौं, प्रहरी नायब उपरीक्षक शाहीले भने।

२४ भदौ २०७७, बुधवार १४:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु