आपूर्ति मन्त्री पुनको अर्को झुट दाबी – ‘एक साताभित्र आपूर्ति सहज’
Interview with Commerce Minister Ganesh Man Pun at the Ministry of Commerce in Singhadurbar, Kathmandu on Sunday. PHOTO/SKANDA GAUTAM
रुकुम, २२ पुस । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट पनि तेल ल्याउने कुरामा नीतिगत तथा व्यावहारिक छलफल तीव्र गतिमा अगाडि बढिरहेको र अबको एक साताभित्रै नेपालमा आपूर्ति सहज हुने झुटो दाबी गरेका छन् ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुकुम पुग्नुभएका मन्त्री पुनले आज जिविसको हलमा आयोजना गरिएको गरिएको पत्रकारसम्मेलनमा जिल्लाको विकास निर्माणबारे जानकारी गराएका थिए ।
मन्त्री पुनले जिल्ला तथा देशको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिविस रुकुमको आयोजना नेपालको संविधान, जनताको संविधान, जनताको संविधान, जनताको माझमा अभियानअन्तर्गत संविधानमा रहेका मूलभूत विषयवस्तुका बारेका सुसूचित गराउन गृह जिल्ला पुग्नुभएका मन्त्री पुनले मधेसी मोर्चाको आन्दोलन तथा भारतले गरेको अघोषित नाकाबन्दीले देशमा ठूलो सङ्कट परेको बेला तेस्रो मुलुकबाट इन्धनलगायतका सामग्री नेपाल ल्याउन बाटो खुलाएको बताएका छन् ।
उनले तेस्रो मुलुकबाट नेपालमा इन्धनलगायतका अत्यावश्यक वस्तु ल्याउने बाटो खुलेसँगै भारतको मात्र भरमा बस्नुपर्ने बाध्यता हटेको बताएका छन् ।
नेपालको संविधानमा भएका व्यवस्था तराईका जनताले राम्रोसँग अध्ययन गरे मधेस आन्दोलन आफैँ अन्य हुने उनको भनाई छ। उनको यस्तो दाबी पहिले पनि रहदै आएको थियो ।
आपूर्तिमन्त्री पुनले भारतको अघोषित नाकाबन्दीका कारण भएको इन्धनलगायतका अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा वितरण व्यवस्था छिट्टै पुरानो अवस्थामा फर्कने बताएका छन् ।
संविधान संशोधन प्रक्रिया अगाडि बढी आन्दोलनरत मोर्चासँग भएका वार्ता सकारात्मक हुन गई आन्दोलन सामान्यीकरणतर्फ गएपछि भारतबाट हुने आपूर्ति पनि सहज बन्दै गएको उनले बताए ।
यसैबीच रुकुमका सांसद मिठ्ठू मल्लले नयाँ सविधानले सबै नेपाली जनताको हकअधिकार समेटिएकाले कसैले पनि देश विकासको बेला आन्दोलन तथा नेपाली नेपालीबीचको सद्भाव भड्कने खालको कार्य नगर्न आग्रह गरेका छन् ।
२१ पुस २०७२, मंगलवार २१:२६ बजे प्रकाशित





