यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने

कोरोना संकटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय नखुल्ने भएको छ।

कोरोना संक्रमण झन् बढ्न थालेपछि सरकारले विद्यालय नखोल्ने निर्णय गर्दै वैकल्पिक विधिबाटै भइरहेको पठनपाठनलाई निरन्तरता दिने भएको हो।

कोरोना संक्रमण रोक्न चैत ५ गतेदेखि देशभरीका शैक्षिक संस्था बन्द गरिएका छन्। जसकारण करिब ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित पठनपाठन गर्न पाएका छैनन्।

वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल अनलाइन कक्षा गरी चार वटै विधिमा पठनपाठन गरिनेछ।

विश्वविद्यालयमा समेत सोही विधिमा पठनपाठन हुने मन्त्री पोखरेलले बताए।

‘विद्यार्थी शिक्षणसंस्थामा जान सक्ने अवस्था छैन, शिक्षक विद्यार्थीसम्म पुग्नुपर्छ, त्यसका लागि घरमै सिकाइ, रेडियो, टेलिभिजन शिक्षण र अनलाइनबाट पठनपाठन गराउँदा बढी प्रभावकारी देखिन्छ,’ मन्त्री पोखरेलले भने, ‘त्यही भएर वैकल्पिक माध्यमबाट पठन पाठन गराएका हौं।’

वैकल्पिक रुपमा गरिने पठनपाठनमा पाठ्यभार समेत घटाइएको छ। शुक्रबार मन्त्रिपरिषदबाट सहमति लिएपछि कार्यान्वयन प्रक्रिया अघि बढेको मन्त्री पोखरेलले बताए।

‘संक्रमणको यो स्थितिमा वैकल्पिक शिक्षालाई मूल धार बनाएर जान मन्त्रिपरिषद्बाट सहमित लिएको छु,’ उनले भने, ‘यो शिक्षा क्षेत्रका लागि एउटा घुम्ती नै हो।’

‘शैक्षिक सत्रको पाँच महिना सकिएको छ, अब पाठ्यक्रमलाई अघि बढाउन सकिदैँन त्यही भएर विद्यालय शिक्षाको पाठ्यक्रम घट्छ।’ मन्त्री पोखरेलले भने, ‘अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रम तयार भएको छ यो महिनाभरमा विद्यालयहरुलाई उपलब्ध गराउने छौं।’

२० भदौ २०७७, शनिवार २३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु