युवराजको विदाइका लागि ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ११ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। शुक्रबारको बैठक अर्थमन्त्री डा. युवराज खतिवडाका लागि अन्तिम क्याबिनेट बैठक हुनेछ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले खतिवडालाई अहिलेसम्म भए÷गरेका काम कारबाहीको समीक्षात्मक टिप्पणीका लागि विशेष समय दिने तयारी गरेका छन्। त्यसमा खतिवडाले आफ्नो ३० महिने कार्यकालको समीक्षा गर्नेछन्।
खतिवडा बिहीबार बेलुका ६ बजेसम्म मन्त्रालयमा नै थिए।
क्वार्टरबाट घरमा सामान सारियो
मन्त्री खतिवडाको निजी निवास काठमाडौंको धुम्बाराहीमा छ। मन्त्री नियुक्त भएपछि उनी पुल्चोकस्थित मन्त्री निवास क्वाटरमा बस्ने गरेका थिए। मन्त्रीबाट बहिर्गमन हुने लगभग निश्चित भएसँगै खतिवडाले बिहीबार सामान सारेका हुन्।
खतिवडाले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेर आफू राजीनामा दिन तयार रहेको बताएका थिए। तर प्रधानमन्त्री ओलीले खतिवडालाई राजीनामा नदिन र अन्तिम दिनसम्म कार्यालयमा उपस्थित भएर काम गर्न निर्देशन दिएका थिए।
१९ भदौ २०७७, शुक्रवार ०७:०७ बजे प्रकाशित













