आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु
आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीका कारण पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान स्थगित थियो ।
सरकारले बन्दाबन्दीको पाँच महिनापछि आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् ।
कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ ।
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो ।
दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगमको एक मात्र उडान तालिका रहेको छ ।
निगमको वाइड बडी जहाजले आज राति १ः०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ ।
आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् ।
१६ भदौ २०७७, मंगलवार १५:२० बजे प्रकाशित





