शाही शासनका मतियारहरू मेरो बिरूद्ध उरालिरहेका छन् : इश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दावी गरेका छन् ।
उनले बुधबार फेसबुकमा एक सूचना राखी आफूसँगको नाता सम्बन्धको आधारमा कानूनी व्यवस्था उलंघन गरी पद प्राप्त गरेको भन्ने विषयमा सत्यता नभएको बताएका हुन् ।
‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्’ उनले भनेका छन् ।
कहींकतै आफ्नो अबाञ्छित चासो वा हस्तक्षेप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार बन्ने पनि पोखरेलले बताएका छन् ।
अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको थियो ।पोखरेलले सूचनामार्फत यसै विषयमा आफ्नो प्रष्टीकरण दिएका हुन् ।
पोखरेलले फेसबुकमा राखेको सूचना
सबै महानुभावहरूमा अनुरोध १
——————————(
केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दुस्खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु( तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन ।
( ईश्वर पोखरेल
१० भदौ, २०७७
१० भदौ २०७७, बुधवार १६:०५ बजे प्रकाशित













