थुनामा रहेका अभियुक्तबाट ९ प्रहरीमा सर्यो कोरोना
उपत्यकामा कार्यरत थप ९ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी निरीक्षक इन्सपेक्टर सहित ९ प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक इन्सपेक्टर, एक प्रहरी नायब निरीक्षक ९सई० र एक प्रहरी सहायक निरीक्षक असई सहित ९ जनामा कोरोना देखिएको हो ।
महाराजगञ्ज वृत्तमा कार्यरत प्रहरी कर्मचारीको बिहीबार स्वाव संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको थियो । जसमा ९ जनालाई कोरोना देखिएको हो ।
कोरोना संक्रमित प्रहरीहरुलाई महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको आइसुलेशनमा राखिएको छ ।
अभियुक्तबाट सरेको आशंका
३० साउनमा नुवाकोटका लक्ष्मण तामाङलाई चक्कु प्रहार गरी हत्या आरोपमा दोर्जे शेर्पालाई महाराजगञ्ज प्रहरीले पक्रेको थियो । संक्रमित प्रहरीहरु शेर्पालाई पक्राउ गर्न गएको स्रोतले बतायो ।
पक्राउ परेको शेर्पाको तत्कालै स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको थियो । परीक्षण रिपोर्टमा शेर्पालाई कोरोना पोजेटिभ देखिएको हो । शेर्पाबाटै प्रहरीलाई कोरोना सरेको हुनसक्ने आशंका गरिएको एक प्रहरीले बताए ।
यता शेर्पालाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलको आइसुलेशनमा राखिएको प्रहरीले जनाएको छ ।
६ भदौ २०७७, शनिवार ०८:३७ बजे प्रकाशित





