पाचँ तयारी, जुन नेपालले आज पुरा गर्नैपर्छ

Nepal-Cricket-Teamकाठमाडौँ, ३१ साउन । नेपालले महत्वपूर्ण खेल खेल्दैछ नेदरल्याण्ड्सविरुद्ध । विश्व क्रिकेट लिग च्याम्प्यिनशिपको चौथो चरणको खेलमा नेपालले पहिलो खेल गुमाएको छ । उसकै घरेलु मैदानमा । तर नेपालले हिजोको खेलबाट पर्याप्त पाठ पनि सिकेको छ । जुन कमजोरी आज को खेलमा हटाएर जित निकाल्न निकै नै आवश्यक छ । यसमध्ये हामीले पाचँ वटा महत्वपूर्ण कुरा औल्याएका छौँ आजको खेलका लागी ।

१. ओपनिङमा सुनिल धमालाई ब्रेक
अहिले नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका उम्दा क्रिकेटर हुन सुनिल धमाला । उनले यसअघिको यु–१९ मा राम्रो प्रदर्शन गरेका थिए । सोही प्रदर्शनपछि उनले राष्ट्रिय टोलीमा ठाउँ बनाएका हुन । हिजोको खेलमा उनी बेञ्चमा बसेका थिए । तर उनलाई भोलीको खेलमा प्रशिक्षक जगत टमाटाले ब्रेक दिनुपर्छ । किनकी अहिले पनि ओपनिङ टोलीमा गतिलो शुरुवात गर्ने खेलाडी छैन । ज्ञानेन्द्र मल्ललाई ओपनिङमा पठाउनु ‘झारा’ टार्नु मात्रै हो । त्यसैले यसले सधै काम गर्दैैन । सुनिलले राम्रोसंग ओपनिङ गर्न सक्छन । किनकी खेल खेल्न र जित्न अनुभव भन्दा बढी इच्छाशक्ति हुनुपर्छ । यसमा डेब्यु खेलाडीको रोल बढी नै निर्णायक हुन्छ ।

२. ज्ञानेन्द्र र शरदको इनिङ
नेपालका सबैभन्दा भरपर्दा व्याट्सम्यानमा अहिले पनि शरद भेषावाकर र ज्ञानेन्द्र मल्लको नाम शीर्ष स्थानमा छ । कप्तान पारस खड्काको प्रदर्शन एकनाश नहुनु र यी दुईको इनिङले नेपालको खेलमा निकै ठुलो प्रभाव पार्छ । तर नेदरल्याण्ड्सविरुद्धको खेलमा दुबै व्याट्सम्यानले आफ्नो क्षमताअनुसार खेल्न सकिरहेका छैनन । यसमा कप्तान र प्रशिक्षकले राम्ररी ‘एक्सपोज’ गर्न जरुरी छ । किनकी नेपालको व्याटिङमा शरद र ज्ञानेन्द्रले नै गरेर जितेका थुप्रै उदाहरण छन । केही महिना अघि मात्रै टियुको मैदानमा नामिवियालाई हराएर महत्वपूर्ण चार अंक बटुल्न शरदको केन्द्रिय भूमिका थियो भने ज्ञानेन्द्र पनि महत्वपूर्ण सावित भएका थिए ।

३.पीच र मौसमको चुनौति
नेपालले पहिलो खेल सजिलै गुमाउनुको मुख्य कारण हो नेदरल्याण्ड्सको पीचमा अभ्यस्त नहुनु । एकातिर मौसमले निरन्तर च्यालेञ्ज दिइरहदा पीच नेपाली खेलाडीका लागी फापिरहेको छैन । यसको मुख्य कारण नेपालले पर्याप्त मात्रामा विदेशी भूमिमा खेल्न नपाउनु हो । बर्षमा एकदिन ‘पिकनिक’ जसरी विदेशी भूमिमा खेल्नु नै हिजोको जस्तो लज्जास्पद हार व्यहोर्नु हो । त्यसैले पनि टोलीेले पहिला आफ्नो प्रदर्शनलाई पीच र मौसमअनुसार ढाल्न जरुरी छ । यसका लागी टिमभित्र पर्याप्त छलफल, सल्लाह र मैदानमा मनोगत अभ्यास हुन पनि आवश्यक छ ।

४. आत्मविश्वासमा बढावा
युरोको फाइनलमा रोनाल्डो घाइते भएर पनि ड्रेसिङ रुम नगई टच लाइनमा बसेर खेलाडीलाई निरन्तर हौसला दिइरहेका थिए । कसैले सोचेको थिएन की रोनाल्डो टचलाइनमा उभिएरै पनि पोर्चुगलले युरो कप जित्छ भन्ने । तर भैदियो त्यस्तै । आखिर रोनाल्डोले १३ बर्षीय करियरमा राष्ट्रका लागी उपाधि उचाले उचाले । त्यसैले नेपाली खेलाडीमा आत्मविश्वासको निकै कमी भएको देखिएको छ । यसका लागी टीमका क्याप्टेन, प्रशिक्षकबीच पर्याप्त छलफल र अन्य खेलाडीलाई हौसला दिन जरुरी छ । यसअगाडी पुबुदु दासानायकेको अभाव अहिले टिमलाई खट्कििएको छ । त्यसैले खेलाडीले आफ्नो आत्मविश्वास फर्काउन एकदमै जरुरी छ ।

५. फम्र्याट परिवर्तन
खेल रणनीतिले जित्नुपर्छ । र जित्नका लागी जे पनि गर्न तयार हुनुपर्छ । तर यसका लागी खेलाडी र प्रशिक्षकले रणनीति बनाउन सक्नुपर्छ । तर क्याप्टेन पारस र प्रशिक्षक जगत टमाटा यसमा केही कमजोर देखिएका छन । हरेक ओभरमा नेपालले रणनीति बनाएर खेल्न जरुरी छ । चाहे व्याटिङ गर्दा होस वा बलिङ नँै । हरेक बलिङ अर्डरमा ‘भर्सटायल’ ल्याउन जरुरी छ । कि फास्ट फास्ट मात्रै वा स्पिन स्पिन मात्रै । विपक्षीको व्याटिङलाई ध्वस्त पार्न बलिङ अर्डर मिलाउन नेपाल सक्षम हुनुपर्छ । सायद यी कुरासंगै मैदानमा देखिएको अवस्था अनुसार रणनीति बनाएर खेले नेपालले भोलीको खेल आफ्नो पक्षमा पार्न सक्छ ।

३० साउन २०७३, आइतवार ११:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु