संसद् पुनःस्थापनापछि फेरियो वामदेवको मनोदशा

वामदेव गौतम बिहीबार एकाबिहानै पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपा विभाजन भयो ।

बिहीबारको भेटमा वामदेवसँग सकारात्मक कुराकानी भएको प्रचण्ड स्रोतले जानकारी दिएको छ ।

“धेरैपछि वामदेवसँग सकारात्मक कुराकानी भयो । प्रतिनिधिसभा पुनःस्थापित गरिएपछि उहाँ उत्साहित पनि हुनुहुन्छ । मुलुकले जित्यो भन्दै खुसी पनि प्रकट गर्नुभयो,” प्रचण्ड स्रोतले भन्यो ।

वामदेवले आजको भेटमा मूलतः दुईवटा कुरा उठाएको प्रचण्ड स्रोत बताउँछ ।

पहिलो, नेकपाकै नेतृत्वमा सरकार बन्नुपर्ने उपाध्यक्ष गौतमको जोड थियो । दोस्रो, नेकपाले बहुमत प्राप्त गरेकाले अहिले अरूको नेतृत्वको सरकारको परिकल्पना गर्न नहुने उनको धारणा थियो ।

“भेटमा उपाध्यक्ष गौतमले ओलीलाई राजीनामा दिन लगाएर सहज निकासको बाटो खोज्नुपर्ने धारणा राख्नुभएको थियो,” स्रोतले भन्यो, “ओलीको बहिर्गमनपछि नेकपाकै नेतृत्वको सरकार बन्नेगरी पार्टी एकता गर्नुपर्ने उहाँको राय थियो ।”

जवाफमा प्रचण्डले पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने बताएको उनको सचिवालयले जनाएको छ ।

“अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकूलता भएको पाइएन ।

तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रूपमा सरकार सञ्चालन गर्नेतर्फ नै ध्यान बढी दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रूपमा पार्टी सञ्चालन गर्नेतर्फ ध्यान बढी दिने व्यवस्था गर्ने ।

कुनै पनि कमिटीको अध्यक्षता गर्न दुवै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने,” उनले अघि सारेको प्रस्तावमा भनेका थिए ।

तर, प्रचण्डको सचिवालय भने संसद् पुनःस्थापनापछि वामदेवको मनोदशा फेरिएको बताउँछ ।

“आजको कुराकानीले वामदेव आउने संकेत गर्नुभएको छ । उहाँ ओलीलाई राजीनामा दिन लगाएर नेकपाकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । कथम् त्यसो नभए उहाँ प्रचण्ड–नेपाल समूहमै आउनुहुन्छ,” स्रोतले भन्यो ।

१३ फागुन २०७७, बिहीवार १८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु