पत्रकारले ४० रुपैयाँमा किने नेकपाको प्रतिवेदन
नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन पेश गरे । महासचिव विश्णु पौडेलले सांगठनिक प्रतिवेदन पेश गरे ।
अध्यक्षले बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा राष्ट्रिय सभागृह नजिकैको एउटा फोटोकपी पसलमा पत्रकारहरु अध्यक्षको राजनीतिक प्रतिवेदन किनिरहेका थिए ।
राजनीतिक प्रतिवेदनको फोटोकपी ४० रुपैयाँमा किनेको त्यो पनि नबुझिने रहेछ भन्दै पत्रकारहरु गूनासो गर्दै थिए भने पसलवाला फोटोकपीको पनि फोटोकपी भएका कारण केही अक्षरहरु काटिएको बताइरहेका थिए ।
बुधवार शुरु भएको नेकपा केन्द्रीय कमिटीमा अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक प्रतिवेदनमाथि बिहीबार छलफल हुने भएको छ । बिहीबार केन्द्रीय कमिटीको बैठक नबस्ने तर प्रतिवेदनमाथि समूहगत छलफल हुने केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
जम्बो केन्द्रीय कमिटीका सबै सदस्यले बोल्दा समय धेरै दिन लाग्ने भएकाले केन्द्रीय सदस्यहरुको समूह विभाजन गरेर समूह समूहमा छलफल गराइने भएको हो । महासचिव विष्णु पौडेलले बैठकमा १५ वटा समूह बनाउने र प्रत्येक समूहमा २९ केन्द्रीय सदस्य रहने प्रस्ताव गरेका थिए ।
समूहगत छलफलमा सचिवालवयका ९ जना नेता रहने छैनन् । १५ मध्ये ८ वटा समूहको छलफल सभागृहमा हुनेछ भने धुम्बाराही पार्टी कार्यालयमा चारवटा र पेरिसडाँडामा ३ वटा समूहको छलफल हुनेछ । हरेक समूहले आ आफ्नो टोली नेता चयन गर्ने र छलफलका निश्कर्ष शुक्रबारको बैठकमा टोली नेताले पेश गर्ने उनले बताए ।
वर्णानुक्रमअनुसार केन्द्रीय सदस्यहरुको टोली चयन भएको छ । नेकपा बैठकमा सरकारले गर्ने राजनीतिक नियुक्तिको मापदण्ड बनाउनुपर्ने माग समेत उठेको छ । केन्द्रीय सदस्यहरुले विभिन्न मन्त्रालयका नियुक्तिमा पार्टी भन्दा बाहिरका व्यक्तिले ठाउँ पाएको भन्दै मापदण्डका आधारमा राजनीतिक नियुक्ति हुनुपर्ने माग उठेको हो ।
बैठकको शुरुमै केन्द्रीय सदस्यहरुले एजेण्डामा आपत्ति जनाएपछि प्रचण्डले सबैका एजेण्डा सम्बोधन हुने बताएका थिए । उनले एमसीसी,पोलिटव्यूरो, सीमा समस्या लगायतका विषय राजनीतिक तथा सांगठानिक प्रतिवेदनमा परेको भन्दै सबै एजेण्डामा छलफल गराइने आश्वासन दिएपछि बैठक अघि बढेको थियो ।
१५ माघ २०७६, बुधवार १५:२९ बजे प्रकाशित













