खाने तेलको मूल्य लिटरमै २० रुपैयाँ बढ्यो

काठमाडौं । देशव्यापी लकडाउन चौथो हप्तामा चलिरहँदा दैनिक उपभोग्य वस्तुहरूको खासै अभाव सिर्जना भएको छैन । एकाध वस्तुमा सामान्य मूल्यवृद्धि भएको छ । जसमध्ये एक हो खाने तेल ।

केही दिनयता विभिन्न ब्राण्डका खानेतेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको खुद्रा विक्रेताहरूले बताएका छन् । फ्याक्ट्रीबाटै मूल्य बढेर आएको उनीहरूको भनाइ छ भने उद्योगहरूले चाहिँ ढुवानी खर्चमा भएको वृद्धिलाई कारण देखाएका छन् ।

सनफ्लावर रेगुलरको एक कार्टुनको मूल्य चैत १० गतेसम्म १४ सय ५० रुपैयाँ थियो । एक लिटरको तेललाई खुद्रा व्यापारीले प्रतिलिटर एक सय ४५ रुपैयाँमा होलसेलबाट किनेर एक सय ५० रुपैयाँमा ग्राहकलाई बिक्री गर्थे । तर, अहिले उक्त तेलको मूल्य एक लिटरमा १० देखि १५ रुपैयाँ बढेर आएको खुद्रा व्यापारी ध्रुव अधिकारीले बताए ।

उनका अनुसार चैत्र १० सम्म एक सय ५० रुपैयाँमा बिक्री गरेको तेलको मूल्य अहिले एक सय ७० रुपैयाँ पर्छ ।

अर्का खुद्रा व्यापारी सुमन सिटौलाका अनुसार तोरी र सोयाबिनको तेलमा पनि मूल्यवृद्धि भएको छ । लकडाउन सुरु हुनुअघि एक सय ४५ रुपैयाँ लिटरमा पाइने तेलको होलसेल मूल्य अहिले एक सय ६० रुपैयाँ पुर्‍याइएको सिटौलाले बताए ।

यस्तै, तोरीको तेलमा पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढेको छ । प्रतिलिटर दुई सय १० रुपैयाँमा पाइने तेलको अहिले होलसेलले दुई सय २५ रुपैयाँ पुर्‍याएको उनले बताए ।

काठमाडौं लगायतका सहरमा तेल लगायत खाद्य वस्तुमा विनाकारण मूल्य बढेको भन्दै नेपाल चामल तेल दाल उद्योग संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष सुवोध गुप्ताले भने, ‘किलोमा वा लिटरमा एक दुई रुपैयाँको अन्तर हुन सक्छ तर १० वा १५ रुपैयाँको मूल्यवृद्धि अस्वभाविक छ ।’

६ वैशाख २०७७, शनिवार ००:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु