अमेरिकी चुनाव विवाद अदालतमा, ट्रम्पले दर्ता गरे रिट

अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावको मत गणना जारी छ ।

बुधबार मध्यरातसम्मको मतपरिणामका आधारमा दुई प्रमुख उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच निक्कै कडा प्रतिस्पर्धा हुने देखिएको छ । ४३ राज्यको मतपरिणाम आइसक्दासमेत कसैको सुनिश्चित देखिएको छैन ।

कोभिडका कारण यसपटक १० करोड अमेरिकी नागरिकले हुलाकबाट मतदान गरेका थिए । निर्वाचनको मिति सकिएपछि प्राप्त भएका मतपत्रले मान्यता पाउने कि नपाउने भन्ने विवाद थियो । पेन्सिलभेनिया राज्यले त्यस्ता मतपत्रलाई मान्यता दिएकोमा त्यहाँको अदालतमा ट्रम्प पक्षले रिट दर्ता गर्ने घोषणा गरेको छ ।

यसपटक चुनावअघिका अधिकांश मत–सर्वेक्षणले बाइडेनले सहजै ट्रम्पलाई हराउन सक्ने देखाएका थिए । तर, मतगणना भने मत–सर्वेक्षणको अनुमानविपरीत निकै प्रतिस्पर्धात्मक देखिएको छ । वर्तमान राष्ट्रपति ट्रम्पले डेमोक्र्याटका उम्मेदवार बाइडेनलाई पछ्याइरहेका छन् । बुधबार रातिको परिणामअनुसार बाइडेनले २३७ इलेक्टोरल मत पाएका छन् ।

त्यही नै ट्रम्पले २१३ इलेक्टोरल मत पाएको बिबिसीले जनाएको छ । अमेरिकामा कुल पाँच सय ३८ इलेक्टोरल मत छ । अमेरिकी राष्ट्रपति बन्न कम्तीमा दुई सय ७० इलेक्टोरल मतको आवश्यकता हुन्छ ।

रिपब्लिकनका ट्रम्प र डेमोक्र्याटका बाइडेन दुवैले महत्वपूर्ण मानिएका राज्यमा जित निकालेका छन् । अहिलेसम्म ५० मध्ये ४३ राज्यको नतिजा आएको छ । यद्यपि धेरैजसो राज्यमा ट्रम्प नै विजयी भए पनि बाइडेनले धेरै इलेक्टोरल मत भएका राज्यमा जित निकालेका छन् ।

यसपटक निर्वाचनको परिणाम आउन विगतको भन्दा ढिलो हुन सक्छ । कोरोना भाइरसका कारण १० करोड मतदाताले हुलाकबाट आफ्नो मतपत्र पठाएका छन् । सम्बन्धित निकायसम्म पुग्न समय लाग्न सक्छ । यसैकारण अन्तिम परिणामको घोषणा ढिला हुने भएको हो ।

मतपरिणाम आउन बाँकी रहेका राज्यको नतिजा नै निर्णायक हुन सक्छ ।

२० कात्तिक २०७७, बिहीवार ०६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु