अँध्यारो शासन अन्त्य गरेर अमेरिकामा उज्यालो ल्याउने बाइडनको दाबी
अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बिहीवार राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले सम्बोधन गरेका छन् ।
उनले भने, ‘म तपाईंहरूलाई वचन दिन्छु, मलाई राष्ट्रपति बनाउनुभयो भने हामीमध्ये उत्कृष्ट अमेरिकीहरूलाई नियुक्त गर्नेछु, निकृष्टहरूलाई हैन ।
म उज्यालोको साझेदार हुनेछु, अँध्यारोको हैन । हामी सबै एकजुट हुने बेला हो यो ।’
अन्धकारको यो मौसम छिट्टै अन्त्य हुने उनले बताए । आफू निर्वाचित भएमा कोभिड–१९ महामारी व्यवस्थापनका लागि राष्ट्रिय रणनीति ल्याउने उनको भनाइ छ ।
उनले ट्रम्प प्रशासनमाथि आक्रमण गरे अनि अमेरिकाले कोभिड–१९ संकटपछि कसरी पुनरुत्थान गर्न सक्छ भन्ने विषयमा कुरा गरे ।
जो बाइडनले राष्ट्रपति पदको उम्मेदवारी औपचारिक रूपमा स्वीकार गरेपछि पटाका पड्काइएको थियो । विभिन्न स्थानबाट डेमोक्रेटहरू भिडियो लिंकमार्फत सम्मेलनस्थल मिलवाउकीमा जोडिएका थिए ।
आफ्नो कार्यकालमा डरको साटो आशा, आख्यानको साटो तथ्य अनि विशेषधिकारको साटो निष्पक्षता सुनिश्चित गर्ने उनले बताए ।
अमेरिकालाई देखिने तथा नदेखिने सबै आक्रमणबाट सबै समयमा जोगाउने प्रतिज्ञा उनले गरे ।
सम्मेलनको चौथो तथा अन्तिम दिन बाइडनका दुई सन्तान हन्टर र एश्ले बाइडनले आफ्ना पिताको प्रशंसा गरे ।
५ भदौ २०७७, शुक्रवार १३:०९ बजे प्रकाशित




