मालीका राष्ट्रपति केटाद्वारा संसद र सरकार भंग गरेको घोषणा

अफ्रिकी मुलुक मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटाले संसद र सरकार भंग गरेको बताएका छन् । साथै, उनले आफ्नो पदबाट पनि राजीनामा दिएका छन् ।

राष्ट्रपति केटाले टेलिभिजनमार्फत संसद र सरकार भंग गरेको जानकारी दिएका हुन् । ‘मेरो शासनकालमा रक्तपात होस् भन्ने म चाहन्न । यदि हाम्रा सशस्त्र बलका केही मानिस मेरो शासनलाई आफ्नो बलबाट अन्त्य गर्न चाहन्छन् भने मेरा सामू विकल्प नै के रहन्छ रु’ उनले टेलिभिजनमा भनेको छन् ।

यो घोषणाभन्दा केही घन्टाअघिमात्रै मालीका विद्रोही सैनिकले राष्ट्रपति इब्राहिम बुबाकार केटा र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएका थिए ।

सेनाको यो विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक एक महत्वपूर्ण सैनिक क्याम्पमा गोलीको आवाजसहित सुरु भएको थियो ।

बामाकोभन्दा १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा असन्तुष्ट जुनियर अफिसरले कमाण्डरलाई हिरासतमा लिएर क्याम्पमा कब्जा जमाएका थिए । यसपछि युवाहरुले सहरका सरकारी भवनहरुमा आगजनी समेत गरेका थिए ।

सरकार परिवर्तनको पक्षमा विरोध प्रदर्शन गर्दै मालीका युवाहरू ।तस्विरः एजेन्सी
मालीका राष्ट्रपतिको राजीनामाका माग गर्दै केही समयदेखि विरोध प्रदर्शन चलिरहेको थियो । मालीको सेनामा जिहादी चरमपन्थीको लगातारको संघर्ष र आफ्नो तलबलाई लिएर असन्तोष थियो ।

केटाले सन् २०१८ मा लगातार दोस्रो पटक निर्वाचन जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार, अर्थव्यवस्थामा आइरहेको गिरावट र साम्प्रदायिक हिंसा बढेको आरोप लाग्दै आएको छ ।

सोही कारण पछिल्ला केही महिनामा ठूलो विरोध प्रदर्शन समेत हुँदै आएको थियो । यसपछि रुढीवादी इमाम महमूद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको थियो । यो गठबन्धनले नयाँ सुधार र मिलिजुली सरकारको माग गरिरहेको छ ।

३ भदौ २०७७, बुधवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु