यसरी बन्छ नयाँ शक्ति दिगो र प्रभावकारी

बुद्धिनाथ पाठक – देश आक्रान्त र पीडादायी भएको अवस्थामा नयाँ शक्तिको बहसले पत्रिका र सामाजिक संजाल गर्मिएका छन्। नयाँ शक्तिका पक्ष विपक्षमा बाढी आएका छन्। तर नयाँ शक्तिका वकालतकर्ताले समस्याको चुरो फुराए पनि कसरी अगाडि  बढे नयाँ शक्तिको कल्पना दिगो र प्रभावकारी हुन्छ भन्ने कुरामा बहस  गर्न सकेका छैनन्। यस लेखमा नयाँ शक्तिको  सम्भावनाको परिकल्पना र विश्लेषण हुनेछ।

बाबुरामको नयाँ शक्ति, सवलता र कमजोरी
पूर्व प्रधानमन्त्री एंवम एमाओवादीका पूर्व  उपाध्यक्ष बाबुराम भट्टाराईको नेतृत्वमा सुरू भएर अघि बढिरहेको नयाँ शक्तिसँग सहकार्य हुन सक्ने अहिले आन्दोलनरत दल संघीय समाजवादी फोरम वा अरु कुनै परम्परागत दलको सबल पक्ष भनेको जिल्ला र गाउँ तहका पार्टीगत संरचना, जनतासँग प्रत्यक्ष संवाद र विगतमा उनीहरूको योगदान (मानौं या नमानौं) रहेका छन्।  तर विडम्वनापूर्वक भन्नुपर्दा अहिलेका युवा पुस्तामा उनीहरू विरुद्धको रोष सबैभन्दा धेरै छ। अहिलेको पुस्ता जो देशभित्र र बाहिर सुनौलो भविष्यको कल्पनामा पढ्दै, जोत्दै, श्रम गर्दै छ। उनीहरू सबैभन्दा बढि दोष पनि बाबुराम पुस्तालाई दिन्छ। साथसाथै बाबुरामको सशस्त्र युद्दको पृष्ठभुमि र अहिलेका उपेन्द्र यादवको भारतलाई हेर्ने दृष्टिकोणले यही समूह नयाँ शक्तिको रूपमा देशभर स्थापना हुन असम्भव नै देखिन्छ। सबैभन्दा मुख्य कुरा जसले नयाँ शक्ति निर्माण गर्न चाहन्छ मुख्यतस् युवा पुस्ता उनीहरूको सहभागिता नै शुन्यप्राय छ जसले यो समूहको सफलताको नकारात्मक संकेत गर्छ।
रवीन्द्र मिश्र समूहका सवलता र कमजोरी
नयाँ शक्तिका प्रखर चाहनाकर्ता मध्येका रवीन्द्र मिश्र, स्वर्णिम वाग्ले, लिलामणि पौडेल अथवा उपेन्द्र देवकोटा समूहको सवल पक्ष भनेको उनीहरूको नयाँ शक्तिप्रतिको इच्छा, चाहना, तत्कालिन समस्याको पहिचान गर्नसक्ने क्षमता, व्यवसायिक पृष्ठभूमि, सामाजिक कामको पृष्ठभूमि, निष्पक्ष एंवम व्यवसायिक उत्कृष्टता रहेका  छन्। तर जतिसुकै रहर गरे पनि केही सोधहरूले प्रमाणित गरेअनुसारका गुणहरू यो समुहमा पनि हावी हुन्छन्। जस्तो  ब्युरोक्रेटहरू भन्दा राजनीतिज्ञ जोखिम मोल्न माहिर हुन्छन् र ठूल्ठूला आर्थिक र सामाजिक समस्याका निकास सम्भव गर्न  सक्छन्।
यो जोखिम मोल्ने कुरामा जागिरे जीवन बिताएकाहरू धेरै पछि हुन्छन् र सहि समयमा ठूलो निर्णय लिएर अगाडि बढ्न हिच्किचाउँछन्। उनीहरूले आधा जीवन सिस्टम र प्रोसेस फलो गर्नमा बिताएका हुन्छन् जसबाट सिर्जनात्मक प्रयास र उपाय आउन गाह्रो हुन्छ। यो समूहका प्रणेताहरू पनि केही हदसम्म बाबुराम समूहका रोगबाट ग्रस्त छन्। जस्तैः ठुल्ठुला कुरा गर्ने अनि आफ्नो नाम सधैं आउनु पर्ने। अर्को सानो उदाहरण, यो समूह सामाजिक संजालको भरपुर सदुपयोग गर्न माहिर छ। तर यिनीहरूको कमजोरी कोठे गफ र एनजिओमा सीमित हुनु हो। बाबुराम समूहको त कुरै छौडौं यो समूह पनि आफ्नो कुरा राख्न मात्रै प्रविधिको प्रयोग गर्छ। सामाजिक संजालमा दुई पक्ष को अन्तरक्रिया एकदमै महत्वपूर्ण हुन्छ तर न बाबुराम न रवीन्द्र समुह नै यो कुरामा निपूर्ण छन्।  सामाजिक संजालमा  उनीहरु आफ्ना भनाइ राख्छन् अनि ४०० कमेन्ट आउँदा पनि अन्तरक्रिया गर्दैनन्।यो कुरा सामान्य लागे पनि २१ अौं शताब्दीमा सामाजिक संजाल को अन्तरक्रियाको छुट्टै भूमिका छ। के यो समूहले युवाको चाहना पुरा गर्न सक्छ त भन्ने मुख्य सवाल हो।
विवेकशील नेपाली: सवलता र कमजोरी 
उत्कृष्ट व्यवसायिक र शैक्षिक पृष्ठभूमिका युवाहरूको समूहद्वारा नयाँ शक्तिको रूपमा गठित विवेकशील समूह वैशाख १२ को भुकम्पपछि साह्रै प्रभावकारी र पारदर्शी रूपमा काम गरेर चर्चामा आएको छ। देश भित्रका मुख्य ठूला सहरका युवा र विदेशका  विश्व विद्यालयमा अध्यनरत विद्यार्थीको ठूलो हिस्सा यस समूहको मेरुदण्डको रुपमा रहेको छ। यो समूहको सबैभन्दा सबल पक्ष नै उत्कृष्ट युवालाई राजनीतितिर मार्गदर्शन गर्नु नै रहेको छ। उनीहरू मुख्य नारा ुनेपाल हाम्रो डेरा होइन घर हो, हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्नेु भन्ने छ। भूकम्प पछिको व्यवस्थापनमा न्युनतम स्रोतसाधन साथसाथै  प्रविधिको प्रयोग गरी पारदर्शी ढंगले युवाको परिचालनमा गरी भूकम्प पीडितको उद्धार र  युवाहरूलाई प्लेटफम दिएर मन जित्न यो समूह सफल भयो।
यो समूहको मुख्य कमजोरी २(३ वर्षको अवधिमा पनि राष्ट्रव्यापी हुन नसक्नु हो। जसको एउटा कारण उनीहरूको नेपाली समाज र संस्कृति प्रतिको बुझाईमा कमी रहेको छ। जस्तो के विवेकशीलका नेतृत्वकर्ता र विश्वास गर्ने ठूलो जमात पश्चिमी राष्ट्रका नामुद विश्व विद्यालयबाट दीक्षित छन् तर उनीहरू नेपाली समाजको आर्थिक, साँस्कृतिक र सामाजिक अवस्थालाई गहिरो विश्लेषण गरी पार्टीलाई त्यहीअनुसार अगाडि बढाउन असमर्थ छन्। उनीहरू सारा विश्व घुमेका छन् तर आफ्नो ताप्लेजुङ र जुम्ला को बारेमा अनभिज्ञ छन्। उनीहरूको पार्टी सामाजिक संजालमा नम्बर एक छ तर गाउँसमाजमा यस्कोनाम पनि कसैले सुनेको छैन। प्रविधिको उपयोग मा नम्बर एक छ तर ४० प्रतिशत कुल ग्राहस्थ उत्पादनमा योगदान दिने कृषि क्षेत्रको बारेमा नादन छ।
यसरी सम्भव छ नयाँ शक्ति 
यदि नयाँ शक्तिका वकालतकर्ताहरू देशको बारेमा चिन्तित छन् र केवल उनीहरूको पदमा आउने मृगतृष्णा मात्रै होइन भने यी तीन समूह एक ठाउँमा नआई नयाँ शक्तिको प्रभावकारिता र सफलता केवल भाषणमा मात्रै सीमित हुनेछ। कतिले प्रश्न उठाउलान् यिनीहरूको सैद्धान्तिक पृष्टभूमि भिन्न छ भनेर। तर मुख्य लक्ष्य एउटै र पछिल्लो पटक बाबुराम भट्टराई, रवीन्द्र मिश्र र विवेकशील नेपालीका धेरै सिद्धान्तहरूमा एकरूपतामा पुग्न सकिन्छ। केवल यिनीहरूको एकताको बाधक नेतृत्वकर्ता को आकांक्षामा अन्तर्निहित छ।
यी तिनै शक्ति एक ठाँउमा आएमा तत्कालीन नेपाली समाजले भोगेको र इच्छाएका धेरै समस्याको समाधान यो नयाँ शक्तिले दिनेछ। जस्तो कि रवीन्द्र मिश्रको समूहबाट विशेषज्ञता, अनुभव र  उत्कृष्टता आउँछ भने विवेकशील नेपालीबाट ठूलो युवा जमात, सिर्जनशीलता, प्रविधिको दक्षता र पारदर्शिताको प्रयोग। यी दुवैका कमजोरीहरू जनता र समाजमा भिज्ने, कार्यकर्ता परिचालन गर्ने र गाउँगाउँमा खट्न सक्ने कार्यकर्ताको समूह बाबुरामको समूहबाट आउन सक्छ। यी तिनै शक्तिः युवा, विशेषज्ञ र राजनीतिज्ञहरूको समूह नै नयाँ शक्ति हुन सबल देखिन्छ।

२० पुस २०७२, सोमवार ०४:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु