नेपाल १९ रनले विजयी, विश्वकप खेल्न पाउने !

59961काठमाडौँ, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोश्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई ४८ दशमलव ३ ओभरमै समेटेपछि नेपाल विजयी भएको हो । नेपालका लागी पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले समान २ तथा शक्ति गौचन, सागर पुन, सन्दीप लामिछानेले समान १ विकेट लिए । यसअघि नेपालले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय १७ रन जोडेको थियो । असअघि  टस हारेर पहिले व्याटिङ थालेको नेपालले कप्तान पारस खड्काको अर्धशतकको मद्धतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका लागी कप्तान पारस खड्काले उत्कृष्ट पारी खेल्दै अर्धशतकसहित ८४ रनको योगदान दिए । ९४ बलको सामना गरेका पारसले १ छक्का र ७ चौकाको मद्धतमा ८४ रन बनाएर आउट भएका थिए । यस्तै पारसपछि सागर पुनले ४५ रन बनाए । अर्धशतक नजिक पुगेका सागरले ७८ बलमा दुई चौकाको मद्धतमा ४५ रन बनाएका हुन ।

सागर र पारस क्रिजमा आउनुअघि नेपालको इनिङ ज्ञानेन्द्र मल्लले उकासेका थिए । उनले १ छक्का र १ चौकाको मद्धतमा ३९ रन बनाए भने आक्रामक व्याटिङ गरेका विनोद भण्डारीले २ छक्काको मद्धतमा १४ बलमा १७ रन बनाए । यस्तै अनिल मण्डलले ४, शरद भेषावाकरले ६, सोमपाल कामीले २, बसन्त रेग्मीले ४ रन बनाए भने सन्दीप लामिछाने २ र शक्ति गौचन ३ रनमा नटआउट रहे । नेदरल्याण्डसका माइकल रिपनले सर्वाधिक ४ तथा पिटर सिलरले २ विकेट लिए । यसअघि शनिबार भएको खेलमा नेपाल नेदरल्याण्डसंग ७ विकेटले पराजित भएको थियो ।

आजको खेल जितेसंगै नेपालको महत्वपूर्ण ६ अंक भएको छ भने नेदरल्याण्ड तालिकाको शीर्ष स्थानमै १२ अंकका साथमा छ । अब नेपालले युएई, केन्या र हङकङसंग खेल्नेछ । अब नेपालले खेल्ने तीनमध्ये १ खेल मात्रै जितेपनि अन्तिम चारमा रहेर विश्वकप २०१८ को छनोट खेल्न पाउनेछ ।

३१ साउन २०७३, सोमवार १६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु