सागले भारत र नेपालको दुरी घट्छ – मन्त्री मण्डल
काठमाडौं, १८ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले संविधान जारी भएपछि भारत र नेपालबीच रहेको केही दूरी १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा हट्ने विश्वास व्यक्त गरेका छन् ।
सागका लागि छनोट खेलाडीलाई प्रोत्साहन गर्न राखेपले शनिबार आयोजना गरेको बधाइ तथा प्रोत्साहन कार्यक्रममा मन्त्री मण्डलले भने, “सागको अवधिमा खेलको माध्यमबाट दूरी हटाउन सहयोग पुगोस् । सफलताका लागि तपार्इँहरुलाई शुभकामना छ ।”
मन्त्री मण्डलले सागमा पदक जित्ने खेलाडीका लागि मन्त्रालयले उचित नगद पुरस्कारको व्यवस्था गरेको स्मरण गराउँदै भने, “तपाँईहरु स्वर्ण जितेर आउनुस् । नेपाल सरकारसमक्ष थप पुरस्कारका लागि छुट्टै प्रस्ताव लाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”
राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले परिषद्का पदाधिकारी जुनसुकै खेलमा आबद्ध भएपनि सबै खेललाई समान नजरले हेर्ने बताउँदै अहिलेको असहज अवस्थाले गर्दा खेलाडीलाई समयमै तालिममा राख्न नसकेको स्वीकार गरे ।
राखेप सदस्य–सचिव केशवकुमार विष्टले संविधान जारी भएपछिको अघोषित नाकाबन्दीका कारण खेलकुद क्षेत्र पनि प्रभावित भएको बताउँदै नाकाबन्दी र भूकम्पको पीडाकाबीच पदक जितेर सारा नेपालीलाई खुशी बनाउन खेलाडीलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झण्डाअङ्कित व्याज, टीका र सगुन प्रदान गरिएको थियो ।
सागको १२ औं संस्करण भारतको गुवाहाटी र सिलोङमा आगामी माघ–फागुनमा हुँदैछ । प्रतियोगितामा नेपालले विभिन्न २३ खेलमा प्रतिस्पर्धा गर्नेछ ।
१८ पुस २०७२, शनिवार १७:२० बजे प्रकाशित