नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले मिथ्या सूचना प्राप्त गर्छनस् सीएमआर-नेपाल सर्वेक्षण सेन्टर फर मिडिया रिसर्च

नेपालको सर्वेक्षणले नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेषगरि यूट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका छन् ।
सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताको जवाफले यो अवस्था देखाएको हो ।

‘नतिजा अचम्मलाग्दो होइन तर लगभग सबैजसो इन्टरनेट प्रयोगकर्तासम्म मिथ्या सूचनाको पहुँच हुनुलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ’, सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले भने, ‘त्यसैले आम नागरिकहरूलाई मिथ्या र सही सूचना छुट्टाउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाहरूले ढिलो गर्न हुँदैन ।’

मिथ्या सूचनाको स्रोत सामाजिक सञ्जाल
सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशतले बितेको एक साताको अवधिमा इन्टरनेट प्रयोग गर्दा मिथ्या सूचना भेटेको बताए । बितेको एक सातामा मिथ्या सूचना नदेख्नेहरूको सङ्ख्या नगन्य थियो । र, धेरै नेपालीहरूका लागि मिथ्या सूचनाको प्रमुख स्रोत यूट्यूब रहेको छ । मिथ्या सूचना प्राप्त गर्नेमध्ये ८५.६ प्रतिशतले यूट्यूबमा गलत सूचना देखेको बताएका छन् ।

यो तथ्यले ‘नेपालमा यूट्यूब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन पनि विषयलाई बढाइचढाइ गर्ने र मिथ्या सूचनासमेत दिन्छन्’ भन्ने जुन आरोप लाग्दै आएको थियो, त्यसलाई केही हदसम्म पुष्टि गरेको छ ।
फेसबुक र ट्विटरबाट पनि मिथ्या सूचना फैलिने गरेको सर्वेक्षणले देखाएको छ । दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् । सत्र प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् ।

पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गरिएको भन्ने सम्बन्धमा उत्तरदाताहरूमा मिडियामाथिको विश्वासले पनि भूमिका खेलेको हुनसक्छ । ‘नेपालको सन्दर्भमा विगत एक दशकभन्दा बढी समयदेखी विभिन्न संस्थाहरुले गर्दै आएका सर्वेक्षण प्रतिवेदनहरुले मूलधारका मिडियालाई सबैभन्दा विश्वासिला संस्थाको रूपमा देखाएका छन् । पछिल्ला दुई वर्षमा भएका सर्वेक्षणले मिडियाको विश्वसनियता ९० प्रतिशतभन्दा बढी देखाएको छ’, मिडियामाथि विश्वसनीयताको विषयमा अध्ययन गरिरहेका मिडिया अनुसन्धानकर्ता तिलक पाठकले भने, ‘यस हिसाबले नेपालमा आम सर्वसाधारणले मूलधारको मिडियालाई अत्याधिक विश्वास गर्छन् । त्यसो त मुलधारका मिडियाबाट कमजोरी नहुने होइन, बेलावखत भइरहेका पनि छन् ।

तर, गल्ती गरेमा प्रायः भुलसुधार गरिहाल्ने र क्षमायाचना समेत माग्ने गरेका कारण पनि सर्वसाधारणले यी मिडियालाई बढी विश्वास गर्ने गर्छन् ।’ यस्तो परिस्थितिमा त्यस्ता मिडियामा फाट्टफुट्ट मिथ्या समाचार आइहाले पनि सर्वसाधारणले त्यसलाई सही नै भनेर पत्याउने अवस्था रहेको पाठकको धारणा छ

२८ भदौ २०७७, आइतवार १४:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु