नेकपाका ६३ सांसदको गर्जन- ओली, प्रचण्ड, नेपालले टाउको गनेर पार्टी फुटाउने सपना नपाले हुन्छ

शीर्ष नेताले विवाद आफैँ नमिलाए विकल्पसहित आउने चेतावनी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पार्टी फुटको झल्को दिने गरी प्रस्तुत हुन थालेपछि ६३ जना सांसदले खबरदारी गरेका छन् ।

त्यस्ता गतिविधिले सिंगो कम्युनिस्ट आन्दोलन धरापमा पर्न सक्ने भन्दै नेकपाका ६३ जना सांसदहरुले आफुहरु कुनै पनि शीर्ष नेताको गतिविधिको पूर्ण समर्थनमा नरहेको भनेर झस्काइदिएका छन् ।

पार्टीभित्रको अन्तरविरोध विधि र प्रक्रियाबाट हल गर्न माग गर्दै उनीहरुले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरे । र आफुहरु शीर्ष नेताले जे भन्यो त्यहि मान्ने, जसो जसो गरे पनि सहेर बस्ने ‘दास’ नभएको बताए ।

‘पार्टीमा दासहरु मात्र छैनन् । यहाँ बिचार भएकाहरु पनि छन् । यो कुरा नेतृत्वलाई बुझाउन खोजिएको छ’ पत्रकार सम्मेलनमा सांसद जीवनराम श्रेष्ठले भने ।

अब देखि पार्टी फुटको पक्ष र विपक्षमा आफ्ना धारणा नराख्ने ६३ जना सांसदको सामुहिक प्रतिवद्धता छ ।

यसबारे ब्याख्या गर्दै अर्थ समितिका सभापति समेत रहेका सांसद कृष्ण दाहालले भने, ‘टाउको गनेर कसैले पार्टी फुटाउने सपना देखेको छ भने त्यो पुरा हुन दिन्नौं । सांसदको हस्ताक्षर संकलन यसैको संकेत हो ।’

आफ्नो पक्षमा यति सांसद रहेको भन्दै शीर्ष नेताहरुले पार्टी फुटाउँदा हुने घाटा र नाफाबारे आंकलन गरिरहेको चर्चाका बीच नेकपाका ६३ सांसदले यसरी गरेको सामुहिक प्रतिवद्धताले शीर्ष नेताहरुलाई झस्काएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र पार्टी एकताका क्रममा गरिएका सहमति कार्यान्वयन गर्दै आगामी एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न तथा एकताबद्ध बनाएर अगाडि बढ्न सांसदहरूले प्रतिबद्धता जनाएका छन् ।

पार्टीभित्रका अन्तरविरोध विचार र सिद्धान्तले निर्देशित गरेर पद्धति र प्रणालीमा आधारित भएर अगाडि बढ्न पनि उनीहरूले आग्रह गरेका छन् ।

पार्टी एकताविरोधी हुने क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दै उनीहरूले त्यस्ता गतिविधि नरोकेमा निस्तेज पारिने पनि उनीहरूको भनाइ छ । पछिल्लो समय पार्टी विभाजनका लागि सांसदहरू कति जना कुन पक्षमा छन् भन्ने आँकलन हुन थालेको भन्दै उनीहरूले त्यस्तो भूल नगर्न भनेका हुन् ।

सांसदहरूको हस्ताक्षरको अगुवाइ गरेका सांसद कृष्णप्रसाद दाहालले आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी सांसदहरूको टाउको गनेर पार्टी विभाजनको सपना देखेको भए त्यो गल्ती नगर्नुस् ।’

पार्टी विभाजनलाई बल दिने गतिविधि सार्वनिक रूपमा भइरहेको भन्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद दाहालले पार्टी एकताको पक्षमा रहेका र ’विभाजनको विरुद्धमा रहेका नेता र जनप्रतिनिधि पनि छन् है भनेर देखाउनका लागि हस्ताक्षर अभियान संचालन गर्नुपर्ने बाध्यता आइपरेको’ बताए ।

कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीका संगठनभित्र छलफलको वातावरण नभएको सांसद रामकुमारी झाँक्रीको भनाइ थियो ।

उनले शीर्ष तीन नेताहरू अध्यक्षद्वय ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले अब आउने पुस्तालाई कस्तो पार्टी दिने भन्नेबारे सोचेर निर्णय लिनुपर्ने बताइन् । ’वैचारिक, सांगठनिक, राजनीतिक हिसाबले चुस्त पार्टी बुझाउँदै हुनुहुन्छ कि टुटफुट भएको खरानी पार्टी हस्तान्तरण गर्दै हुनुहुन्छ ?’ उनको प्रश्न थियो ।

२०५४ सालमा तत्कालीन एमाले विभाजित भएको स्मरण गर्दै वरिष्ठ नेता नेपाल निकट झाँक्रीले पार्टी विभाजन गरेर ’सानो परिवार सुखी परिवार’ बनी सानो कोटरी चलाउन सकिने तर कम्युनिस्ट आन्दोलनको भावना समेट्न नसकिने बताइन् । उनले नेताहरूलाई पदभन्दा माथि उठेर देश र जनताबारे सोच्न आग्रह गरिन् ।

अहिलेको गतिमा जाने हो भने भविष्यमा कम्युनिस्ट पार्टीको झन्डा बोकेर सत्तामा पुग्न कठिन हुने उनको भनाइ थियो । ’पार्टी फुटाएर जाउँ’ भन्नेहरूलाई रोकेर केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय तथा संसदले निर्णय गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

सांसद विशाल भट्टराईले पार्टीभित्र अस्थिरता उत्पन्न भएको अवस्थामा जननिर्वाचित सांसद किन चुप लागेर बसेका हुन् भन्ने प्रश्न उठेकाले विभाजनविरुद्ध अभियान चलाउनुपरेको बताए । उनले पार्टी एकताका लागि शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउने, पार्टी कार्यालय र नेताका निवासमा धर्ना दिन पनि तयार भएको बताए । ‘पार्टीभित्रको अहिलेको अन्तरविरोध सैद्धान्तिक र विचारको नभई पदको भएको स्पष्ट छ,’ प्रधानमन्त्री ओलीनिकट भट्टराईले भने, ’यसले पार्टीलाई मात्रै नभई गणतन्त्रात्मक व्यवस्थालाई नै खतरामा पार्ने देखिन्छ । सधैं अस्थिरतामा जान सम्भव छैन अब स्थायित्व र समृद्धिमा अगाडि बढ्नुपर्छ ।’

पार्टीभित्र देखिएको अन्तरविरोधले नेकपा कतै फुटको दिशामा अगाडि बढेको त होइन भन्ने देखिएको सांसद गणेश पहाडीको थियो । ’पार्टीलाई फुटबाट जोगाउन सांसदले भूमिका खेल्नुपर्छ भनेर अहिले यो अभियान चलाएका हौं । विधि, प्रक्रिया, पद्धति र प्रणालीभित्र रहेर समस्याको समाधान नेताहरूले नै खोज्नुपर्छ,’ उनले भने, ’नेतृत्वले उचित समाधान दिएन भने दोस्रो तहका नेताले हस्तक्षेपकारी रूपमा अगाडि बढ्नुपर्ने हुनसक्छ ।’

पार्टी एकता गर्नुपहिला गरेको सहमतिलाई कागजको खोस्टो ठान्दा अहिलेको समस्या आएको सांसद नारदमुनी रानाको भनाइ थियो । उनले पार्टीभित्रको विवाद समाधान अन्त्य गर्नमा स्थायी कमिटी र सचिवालय असफल भएको हो ? भनेर प्रश्न गरेका थिए । उनले भने, ’हामी नेताहरूलाई सहयोग गर्न तयार छौं तर चोइटिएर जाने दिशामा गए हाम्रो साथ रहने छैन । तपाईंहरूको पछि लाग्दा देश र पार्टी कहाँ पुग्ला ?’

पार्टी एकता गर्दा जसरी अध्यक्षद्वयले घोषणा गरेका थिए अब पनि त्यही किसिमले अगाडि बढ्नुपर्ने रानाको भनाइ थियो । उनले, ’हामीलाई कार्यकर्ता प्रश्न गरिरहेका छन्( स्थिर सरकारको नारा कहाँ पुग्यो ? जनजीविकाका कुरा कहाँ छन् ? हामीसँग अहिले जवाफ छैन । यी प्रश्न हामी शीर्ष नेतालाई सोध्छौँ । पार्टी एकताको अन्तरिम विधान सर्वसम्मत पारित गरेको हो । त्यो विधान मान्नुपर्छ कि पर्दैन ? सबै विषयमा सहमतिमा जाने विधि कसले किन तोड्दैछ ?’

पार्टी एकता फुटका लागि नभएको भन्दै सांसद अन्जना विशंखेले त्यस्तो अवस्थामा कसैलाई सहयोग हुन नसक्ने बताइन् । ’तल्लो तहसम्म पार्टी एकीकरण नहुँदै भइरहेको विवाद दुस्खद् छ । हामीलाई कुन विचार र विवादले यो अवस्थामा पु¥यायो ? हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौँ ।’

सत्तारुढ नेकपा विभाजन भएमा अहिलेको व्यवस्था असफल हुने सांसद यज्ञराज सुनुवारको भनाइ थियो । उनले नेताहरूको पछि लागेर हस्ताक्षर संकलनमा नलागेको दाबी गरे । ’नेताको जन्मोत्सवमा केक लिएर कुद्नेबाहेक कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको’, उनले बताए ।

पार्टीमा दासहरू मात्रै छैनन् भन्ने कुराको ख्याल नेतृत्वले राख्नुपर्ने सांसद जीवनराम श्रेष्ठको भनाइ थियो । ’जनताले गरेको विश्वासमा घात गर्न दिनुहुँदैन । नेताहरूले यहाँ दासहरू मात्रै छैनन्, समाज परिवर्तनमा लागेका विचारवाला कार्यकर्ता पनि छन् भन्ने बुझ्नुपर्छ । पार्टी विभाजन क्षम्य हुन सक्दैन,’ उनले भने ।

पार्टी विभाजन रोक्नका लागि आफू सांसद र केन्द्रीय सदस्य पद त्याग गर्न तयार रहेको सांसद राजबहादुर बुढाक्षेत्रीले बताए ।

गुटको झल्को …

पत्रकार सम्मेलनमा सहभागि सांसदहरुको एउटै मत थियो– पार्टी विभाजन हुन हुन्न ।
तर, धारणा राख्ने क्रममा सांसदहरुले गुटको भाषा भने प्रयोग गरेका छन् ।

माधव नेपाल पक्षधर मानिने राम कुमारी झाँक्रीले पार्टी विधि र पद्धतीका आधारमा चल्नुपर्ने बताइन् । पार्टीमा हुने विवाद सम्बन्धित कमिटीहरुमा छलफल गरेर हल् गर्नुपर्नेमा जोड दिइन । उनको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक राख्न नखोजेको भन्ने चर्चातर्फ थियो ।

ओली पक्षधर मानिने विशाल भट्टराईले भने कसैले पनि पदका लागि, प्रधानमन्त्री हुने हतारोका लागि विवाद गर्ने र आफुखुसी पत्रकार भेटघाट गर्दै हिड्न नहुने बताए ।

केही दिन अघि मात्रै प्रचण्ड–माधव पक्षले राजधानीमा पत्रकार सम्मेलन गरेको थियो । र यो पक्षले ओलीले एक पद छाड्नुपर्ने बताउँदै आएको छ । यसतर्फ नै सांसद भट्टराईको संकेत थियो ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा गर्न ओलीलाई दबाब बढेपछि असार अन्तिम साता विवाद उत्कर्षमा थियो ।

त्यतिबेला प्रधानमन्त्रीवरूद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि संसदको विशेष अधिवेशन बोलाउन लागिएको भन्ने चर्चा नेकपाका सबै गुटमा व्यापक बनेको थियो । ठीक त्यसै बेला नेकपा सांसदहरूले एकताका लागि दबाब दिन भन्दै हस्ताक्षर अभियान सुरु गरेका थिए । त्यतिबेला प्रतिनिधिसभाका सांसदहरूले मात्रै हस्ताक्षर संकलन गरिएको थियो । हस्ताक्षर सार्वजनिक गर्ने क्रममा भने केही राष्ट्रिय सभाका सांसद पनि सहभागी छन् ।

त्यतिबेला वरिष्ठ नेता नेपाल पक्षका सांसदहरूले हस्ताक्षर अभियानलाई अगाडि बढाएका थिए भने अध्यक्ष दाहाल पक्ष पनि त्यसमा सहभागी थियो । नेपाल पक्षबाट सांसदहरू गणेश पहाडी, यज्ञराज सुनुवार, झपट रावलहरू संलग्न थिए भने पूर्वमाओवादीबाट सुरेशकुमार राईलगायतका सांसद थिए ।

त्यतिबेला हस्ताक्षर दुरुपयोग हुनसक्ने भन्दै ओलीपक्ष सशंकीत भएको थियो । ओलीपक्षले आफूनिकट सांसदहरूलाई विचार गरेर मात्रै हस्ताक्षरमा संलग्न हुन भन्दै सचेत गराएको थियो ।
त्यसपछि हस्ताक्षर अभियानको नेतृत्व ओली निकट मानिएका अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले गरेका थिए ।

हस्ताक्षर सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्ने सांसदहरूमा पनि गुटको आभाष भएको हो ।
नेपाल निकट सांसदहरूले विधि, पद्धती, पार्टीको घोषणापत्र लगायतमा आधारित भएर सरकार अगाडि बढ्नुपर्ने बताएका थिए भने ओली पक्षका सांसदले पदका लागि विवाद सिर्जना गरेको आरोप लगाए ।

सांसद सुनुवार, श्रेष्ठ, रानालगायतले पार्टी विधि र विधानअनुसार नचलेको बताएका थिए । ’पार्टीमा दासहरू मात्रै छैनन्’ भन्ने बुझ्नुपर्ने श्रेष्ठको भनाइ थियो भने । सुनुवारले नेताको जन्मदिनमा जाने बाहेकका कार्यकर्ता एकताको पक्षमा रहेको भन्दै ओली समूहप्रति व्यंग गरे ।

सांसद भट्टराईले भने केही नेताहरूमा पदमा जाने हतारोले पार्टीभित्र किचलो उत्पन्न भएको आरोप लगाए । कोरोना र प्राकृतिक प्रकोपका बेला गाइजात्रा देखाउन नहुने उनको भनाइ थियो ।

अभियानको नेतृत्व लिएका दाहालले बोल्ने क्रममा सांसदहरूमा पार्टीभित्रको समूहका छायाँ देखा परे पनि भविष्यमा त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गरे । त्यस्तो देखिएमा आफूहरू छलफल गर्ने र मिलेर अगाडि जाने उनको भनाइ थियो । आफूहरू पार्टी विभाजनका लागि कसैले बोलाए नजाने र नेताहरूलाई कुनै पनि हालतमा एकताका लागि सांसदहरूले दबाब दिने उनले बताए ।

२५ साउन २०७७, आइतवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु