लिखित राजीनामा तयार पार्दै प्रधानन्यायाधीश जबरा
जाँदाजाँदै एकैदिन ५ आदेश
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले लिखित राजीनामा बुझाउने भएका छन् ।
पछिल्लो समय सर्वोच्चका न्यायाधीश जबराले गठन गरेको इजलास बहिष्कार गरिरहेका छन् भने नेपाल बार एसोसिएनले बहस नगर्ने भएको छ । अहिले जबराको राजीनामा माग गर्दै चौतर्फी आन्दोलन भइरहेको छ । यहि बेला जबराले लिखित राजीनामा दिन लागेका हुन् । लिखित राजीनामाको तयारीमा रहेको उच्च स्रोतको दाबी छ ।
जाँदाजाँदै एकैदिन ५ आदेश
जाँजा जाँदै प्रधानन्यायाधीश जबराले एकैदिन ५ वटा आदेश गरेका छन् ।
जबराले लामो समयपछि बुधबार आफूसहितको इजलास गठन गरेका थिए । तर उनी बाहेकका न्यायाधीशले भने इजलास बहिष्कार गरे । जबराले ११ वटा इजलासमा २७८ वटा मुद्दाको पेसी सार्वजनिक गरे । उनले आफ्नो नेतृत्वको एकल इजलासमा पाँच थान मुद्दा राखे । डेढ घण्टामा पाँच वटा मुद्दाको सुनुवाइ गरे ।
उनको एकल इजलासमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलना, मधुकुमारी चौधरी विपक्षी सम्पत्ति शुद्धीकरणसम्बन्धी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दाको पेसी थियो । जबराले घर्ती विरुद्धको अवहेलना मुद्दालाई तामेलीमा राख्ने आदेश दिएका छन् भने सम्पत्ति शुद्धिकरणको मुद्दामा निवेदन फिर्ता पठाइदिएका छन् ।
यस्तै बन्दीप्रत्यक्षीकरणका दुवै रिटमा कारण देखाउ आदेश दिएका छन् भने जैसवालको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएका छन् ।
को हुन् चोलेन्द्र ?
नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र समशेर जबरा राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् ।
जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।
उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन्– चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।
वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए ।
पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।
सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी ट्रेनिङसमेत लिएका छन् ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र ०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका हुन् । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए । तर, अहिले उनी नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बनेका हुन् ।
११ कात्तिक २०७८, बिहीवार ००:०१ बजे प्रकाशित