ओलीलाई संसदीय दलको नेताबाट हटाउने कसरत

ओली–नेपाल गतिविधि कायमै

काठमाडौं । नेकपा एमाले आन्तरिक विवादमा छ । एमाले आन्तरिक विवाद व्यवस्थापनमा तल्लिन छ । अनेकन विकल्पहरुमाथि छलफल छ तर विकल्पको टुङ्गो लाग्न सकेको छैन । यहि बीचमा संसदीय दलको नेता परिवर्तनको विषयले आन्तरिक छलफलमा प्रवेश पाएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल केपी ओलीलाई जसरी पनि नेतृत्वबाट हटाउन लागि परेका छन् । बरु उनलाई हटाएर आफु नेतृत्वमा नगइ नयाँ पुस्तालाई नेतृत्व सुम्पन उनी तयार भएको नेताहरु बताउँछन् ।

यसको लागि सबैभन्दा पहिले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने बरिष्ठ नेता नेपालको योजना छ । ‘जसरी हुन्छ केपी ओलीलाई नेतृत्वबाट हटाउनुपर्छ त्यसपछि एमाले एकताको वातावरण बन्छ भन्नेमा बरिष्ठ नेता नेपाल हुनुहुन्छ’उनी निकट एक नेताले भने ।

बाहिरी दबाब बढाउने

केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन बाहिरी दबाबलाई थप बढाउने र आन्तरिक छलफलमा दह्रिरो भएर प्रस्तुत हुने वरिष्ठ नेता नेपालको रणनीति छ ।

ओलीले आफु संकटमा परेपछि एकताको हतारो गरेको जस्तो गरिरहेको मुल्याङ्कन गरेर नेता नेपाल ओलीविरुद्ध अपमानयुक्त अभिव्यक्ति दिन नरोक्ने अडानमा छन् र आफु निकटका नेताहरुलाई यहि संदेश दिएका छन् । ‘ओलीको ‘आममाफी जिब्रो चिप्लिएर निस्किएको होइन, त्यहाँ अहंकार झल्कन्छ,’ नेता नेपालको निष्कर्ष छ, ‘त्यो अहंकारमा हारको मानसिकता पनि छ र त्यो मानसिकतालाई ठेगान लगाएपछि मात्रै पार्टी एकता हुन्छ । अर्थात, केपी ओली नेतृत्वबाट हट्नुपर्छ ।’

माधव नेपाल चिढिने ओलीका अनेकन हर्कत रहेको र ओलीका हर्कतका अगाडि आफुहरुका गतिविधि कुनै पनि गलत नरहेको निष्कर्ष माधव नेपाल समुहको छ । ‘२८ फागुनमा केपी ओलीले हामी सबैलाई सामूहिक रुपमा निष्कासन गर्ने निर्णय गरेको हो । तर हामीले अर्धविद्रोह मात्रै गर्यौं, अलग पार्टी बनाएनौं,’ नेपालको भनाइ छ ।

चुनावअघि ओलीको ठाउँमा अर्कै व्यक्ति

केपी ओलीलाई नेतृत्वबाट हटाउनैपर्ने बरिष्ठ नेता नेपालको जिकिरको अर्को कारण– आगामी चुनाव हो । मुलुकमा अब छिट्टै तीन वटै तहको चुनाव हुँदैछ । यहि वर्षको अन्त्यरितबाट स्थाीय तहको चुनाव सुरु गर्नुपर्ने छ । यदि केप ीओली नेतृत्वमा रहि रहेको खण्डमा उनले मनलाग्दी गर्ने र आफ्ना हनुमानहरुलाई मात्रै टिकट दिने संभावनालाई ख्याल गरेर बरिष्ठ नेता नेपालले उनको बर्हिगमनलाई पार्टी एकताको पहिलो खुड्ििकलो भनिरहेका छन् ।

ओलीको विकल्पमा के गर्ने भन्ने पनि उनको विकल्प छ । सहमतिमै ओलीले नेतृत्व छाड्ने र नयाँ पुस्तलाई नेतृत्वमा ल्याउने । बरु ओलीलाई हटाएर आफु पार्टी अध्यक्ष वा संसदीय दलको नेता हुन नजाने नेता नेपालको प्रतिवद्धता छ ।

लगातार आफ्नो समूहका नेताहरुसँग छलफल गरिरहेका नेता नेपालले नेतृत्वबारे छलफल गर्न आफू तयार रहेको जनाउ दिने गरेका छन् । साथै ओलीसँगै आफू अध्यक्ष नबन्ने उनले बताएका छन् ।

यदि दुई अध्यक्षमा सहमति भए वरिष्ठ नेता झलनाथ खनाल अर्को अध्यक्ष हुने उनको प्रस्ताव छ ।
उनको दोस्रो विकल्प अध्यक्ष मण्डल बनाउने छ । त्यस्तो अध्यक्ष मण्डल बनेमा ओली, खनाल र वामदेव गौतम रहने नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग बताएका छन् ।
तेस्रो विकल्प ओली र आफू दुवैले पदीय जिम्मेवारीबाट बिदा लिने । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले बिदा लिएपछि नयाँ नेतृत्वले पार्टी चलाउने उनको प्रस्ताव छ ।

ओली–नेपाल गतिविधि कायमै

एमाले एकताको प्रयास भइरहेपछि त्यसअनुकुल केपी ओली र माधव नेपालका गतिविधि हुन सकेका छैनन् । ओली–नेपालका छुट्टाछुर्ट्ट गतिविधि कायमै छन् ।

एमाले एकताका लागि दशबुँदे सहमति भएको छ । सहमति जुटाएको एमाले वार्ता कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले पनि ओली र नेता नेपाल नरहेर एमाले एकता प्रक्रियाले पूर्णता नपाउने तर्क गरिरहेका छन् ।

गएको २७ असारमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्मिलित दश सदस्यीय कार्यदलले दशबुँदे सहमति गरे पनि एमाले विवाद हल हुन सकेको छैन । अध्यक्ष ओली र नेता नेपालले आ–आफ्नो समूहको गतिविधि कायमै राखेका छन् ।

दुई पटक प्रतिनिधिसभा विघटन र पार्टी विभाजन गराउन तयार भएका ओली सुध्रने सम्भावना नरहेको र सहजै पार्टीमा एकता हुने नदेखिएको नेता नेपालले बताउने गरेका छन् ।

१४ साउन २०७८, बिहीवार ०९:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु