विश्वासको मत नपाउने स्थितिमा राजीनामा दिने प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाउने स्थितिमा राजीनामा दिने घोषणा गरेका छन् ।
प्रतिनिधि सभाको बैठक चैत १८ गते बस्दैछ। प्रधानमन्त्री केपी ओली छिट्टै संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारीमा छन्। यहि बेला सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको आन्तरिक निर्णय भइसकेको छ ।
त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकअघि नै समर्थन फिर्ता लिने आन्तरिक निर्णय लिएको उनलाई भेटेका एक नेताले जानकारी दिए।
‘उहाँले अब बस्ने संसद बैठकअगाडि नै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्नुभयो,’ खुमलटार निवासमा प्रचण्डसँग भेटेका ती नेताले भने, ‘समर्थन फिर्ता लिएपछि राजनीति नयाँ कोर्समा जान्छ भन्ने उहाँको बुझाइ छ।’
माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा ओलीले विश्वासको मत लिन राष्ट्रपतिबाट समय पाउँछन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।
विश्वासको मत लिन प्रयास गर्दा आफु नेतृत्वको सरकार नढल्ने वातावरण बने विश्वासमो मत लिने, विश्वासको नपाउने स्थितिमा राजीनामा दिने प्रधानमन्त्री ओलीले निकटस्थहरुसंग घोष्णा गरेका हुन् ।
सर्वोच्च अदालतले २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई फागुन २३ गते खारेज गरिदिएको थियो। पूर्ववत् अवस्थामा पुगेको माओवादी केन्द्रले सबै तहको सांगठनिक संरचना निर्माण थाले पनि ओली सरकारलाई दिएको समर्थन भने कायमै राखेको भनेर आलोचना भइरहेका बेला माओवादी केन्द्रले समर्थन फिर्ता लिने र विश्वासको नपाउने स्थितिमा राजीनामा दिने प्रधानमन्त्री ओलीको घोषणा संगसंगै आएको छ ।
चैत १४ गते प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता गर्ने बताएका थिए।
संसदमा माओवादी केन्द्रका ५३ सांसद छन्। एमालेको १ सय २० सांसद छन्।
कांग्रेस, जसपा र नेपाल समूहसँग वार्ता
ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि अध्यक्ष प्रचण्डले कांग्रेस, जसपा र एमाले नेपाल पक्षसँग निरन्तर छलफल गरेका छन्।
वैकल्पिक सरकार बन्ने निश्चित भएपछि समर्थन फिर्ता लिने योजनामा प्रचण्ड थिए। तर, अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएपछि प्रचण्डले पहिला समर्थन फिर्ता लिएर कांग्रेसको मुड हेर्न खोजेका छन्।
‘वैकल्पिक सरकार बनाउन निर्णायक कांग्रेस र जसपा हो, उनीहरुले अहिलेसम्म ओली सरकारमा माओवादीको समर्थन रहेकाले निर्णय नगरेको भनेका छन्, उनीहरुको मुभ हेर्ने अध्यक्षको योजना छ,’ स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने।
उनका अनुसार कांग्रेस र जसपाका नेताहरुसँग कुराकानी भइरहेको छ।
‘कतिपय नेताहरुसँग दोस्रो तहका नेताहरुले र कतिपयसँग अध्यक्ष आफैँले फोन गर्नुभएको छ,’ गजुरेलले भने।
प्रचण्डले सोमबार बिहानै जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र महेन्द्रराय यादव लगायतका नेताहरुलाई टेलिफोन गरेका थिए।
प्रचण्डले होलीको अवसरमा शुभकामना दिन फोन गरेको उनको सचिवालयले दाबी गरेको छ।
ठाकुर र महतो प्रधानमन्त्री ओलीतिर नजिकिएका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिए जसपालाई सरकारमा लगेर बहुमत समर्थन कायम राख्ने ओलीको योजना छ। तर, जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई ओलीसँग मिल्न नहुने अडानमा छन्।
एउटै पार्टीमा दुई धार भएपछि जसपा विभाजन हुन नदिन यादव र भट्टराईले दौडधुप गरेका छन्।
कोटेश्वरमा चार नेताको भेट
सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधव नेपाल र भीम रावलसँग कोटेश्वरमा भेट गरे।
एक नेताका अनुसार व्यवसायी टपेन्द्र तिम्सिनाको घरमा चार नेताबीच लामै छलफल भएको थियो।
त्यसको केहीबेरपछि एमाले अध्यक्ष ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।
१६ चैत २०७७, सोमवार २२:४५ बजे प्रकाशित