समायोजनबाट असन्तुष्ट अधिकृतहरुलाई चिढ्याउँदिन : मन्त्री त्रिपाठी

२९ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले समायोजनबाट असन्तुष्ट अधिकृतलाई चिढ्याउने पक्षमा आफू नरहेको बताएका छन् । आइतबार समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुसँगको भेटमा उनले भने, ‘त्रुटि भएको रहेछ भने सच्याउछु भनेको छु । कर्मचारीलाई बिच्काएर असहज बनाउने पक्षमा छैन ।’

असन्तुष्ट अधिकृतहरुले आफूहरुले समायोजन रोज्दा पहिलो नम्बरमा संघ रोजेको भन्दै संघको रिक्त दरबन्दीमा आफुहरुलाई अवरसर दिनुपर्ने माग गरेका छन् । ‘हामी संघीय सेवामै प्रवेश गरेको हौं । पहिले इच्छा नहुँदा नहुँदै तल पठाइयो, अहिले खाली हुँदा हामीलाई अवसर नदिएर लोकसेवा आयोगले विज्ञापन गरयो । यसमा हाम्रो विरोध छ’ संघीय मामला मन्त्रालयमा विरोध पत्र बुझाउन गएका एक अधिकृत दिनेश सिवाकोटीले भने ।

सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार लोक सेवा आयोगले यही मंसिर २५ गते बिभिन्न सेवा समूहमा १०९६ अधिकृतका लागि विज्ञापन प्रकाशित गरेको थियो । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गरेपछि प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकृतहरु ९ब्याट ३०, ३१, ३२ र ३३० ले रिक्त दरबन्दीमा आफूहरुले अवसर पाउनुपर्ने माग राखेका हुन् ।

आइतबार असन्तुष्ट अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठी, मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख बाबुराम अधिकारी, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा, प्रधानमन्त्री कार्यालयका सचिव तीर्थराज ढकाललाई भेटेर विरोध पत्र बुझाएका छन् ।

२९ मंसिर २०७६, आइतवार १३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु