कोरोना नियन्त्रणबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

१५ साउन, काठमाडौं । बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज (शुक्रबार) अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो। बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

निषेधाज्ञा खुकुलो पारेसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भाइरस नियन्त्रण गर्ने रणनीति बनाउने विषयमा छलफल हुने बताईएको छ।

संक्रमितको संख्यामा वृद्धि भएपछि केही समयअघि खुकुलो पारिएको निषेधाज्ञा आजको बैठकले भने फेरि कडा बनाउने सम्भावना रहेको छ।

केही दिनयता कोरोना संक्रमणको दैनिक दर ह्वात्तै बढेको छ। हिजो (बिहीबार) मात्र देशभर ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिले पनि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी नै छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन हुनेगरी खुकुलो पारिएको छ।

१५ साउन २०७८, शुक्रवार १०:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु