जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

२० असार, बैतडी । बैतडीमा आइतवार बिहान जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेरूमा ४५ वर्षीय मानसिंह साउद, ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय जय सिंह धामी रहेका छन् ।
दुर्घटनामा साउद, राम सिंहको घटनास्थलमै र जय सिंहको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
घाइते ११ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ । पाँच जनाको अवस्था गम्भीर छ ।
लगनबाट डडेल्धुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप बिहान सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
२० असार २०७८, आइतवार १४:१२ बजे प्रकाशित