मेलम्चीको पानी दशैंसम्म पनि काठमाडौंमा आउन असम्भव

१७ असार, काठमाडौं । गत वर्ष चैत १५ गते मेलम्चीको पानी काठमाडौंबासीको धारामा झर्यो । मेलम्चीको पानी खाने सपना देखेको २७ वर्षपछि धारामा पानी झर्दा उत्सवकै माहौल थियो । तर, अढाइ महिनामै मेलम्चीको पानी आपूर्तिमा रोकावट पैदा भएको छ ।
सुरुङ परीक्षणको कार्यविधि पूरा गर्नुपर्ने भएकाले असार १ गतेदेखि मुहानबाट पानी पठाउन बन्द गरिएको थियो । सोही रात मेलम्चीमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको छ । अब काठमाडांैमा पानी वितरण कहिलेबाट सुचारु हुन्छ भन्ने निधो छैन ।
असार १ गते राति सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को माथिल्लो भागमा भारी वर्षा भएको थियो । वर्षाका कारण भ्रेमाथाङमा गएको भीषण पहिरोले नदी थुनिएर फुट्दा मेलम्ची खानेपानी आयोजनास्थल क्षणभरमै बगरमा परिणत भयो । बाढीले मेलम्ची आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको बताइएको छ ।
बाढीले क्षति पुगेसँगै मेलम्चीको पानी वितरण कहिलेबाट सुचारु हुन्छ भन्ने टुंगो नभएको आयोजनाका अधिकारीहरु बताउँछन् । यसपाली दशैंमा काठमाडौंबासीले मेलम्चीको पानी पाउने सम्भावना नरहेको उनीहरुको भनाइ छ ।
मनसुन नसकिएसम्म संरचना मर्मत गर्न समस्या भएकाले दशैअघि खानेपानी काठमाडौं ल्याउन सम्भव नहुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए । अहिले पनि हतारै गरेर पानी ल्याइहालौ भन्ने अवस्था नभएको उनको भनाइ छ ।
‘दशैं अघिसम्म मेलम्चीको पानी आउने सम्भावना न्यून छ,’ पन्तले भने, ‘भदौसम्म नदीमा बाढी रहिरह्यो भने दशैंमा पानी ल्याउन सकिँदैन ।’
सुरुङ परीक्षणको कार्यतालिकाअनुसार सुुरुमा काठमाडौंतिरबाट सुरुङ खाली गर्ने काम सुरु गरिएको थियो । असार १ गते मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरेलगत्तै सुन्दरीजलबाट खाली गरिसकिएको थियो ।
बाढीले हेलम्बुमा रहेको सुरुङको अन्तिम विन्दु टालिएको छ । आम्बाथानको अडिट टालिएकाले सुरुङ खाली गर्न सकिएको छैन ।
बाढी गएको १५ दिन भइसक्दा पनि मेलम्ची खानेपानीको मुहानमा प्राविधिकहरु पुग्न सकेका छैनन् ।
आयोजनाले विभिन्न निकाय, स्थानीय सरकारको सहयोग लिएर बाटो खुलाउने र क्षतिको यकिन अनुमान गरी आवश्यक बजेट व्यवस्था गर्नेबारे छलफल गरिराखेको छ ।
आयोजनाका कर्मचारीहरु हेडवक्र्ससम्म पुग्नका लागि बाटो नभएपछि तीनपटक आधा बाटोबाटै फर्किए । सडक सञ्जाल बाढीले बगाएपछि प्राविधिक टोली हेडवक्र्स पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
बाढीले आयोजनाको हेर्डवक्र्स १० देखि १५ मिटरसम्म पुरिएको छ । बाढीले बगाएर ल्याएको गिटी–बालुवा, ढुंगाले हेडवक्र्स पुरिनुको साथै सबै संरचना बगाएको छ ।
ठूलो परिमाणको गिटी, बालुवा पन्छाएर आयोजनाको संरचना अवलोकन गर्न डोजरलगायत विभिन्न उपकरणहरु नलगिकन सम्भव नभएको समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।
‘सडक सञ्जाल टुटेकाले बाढी पन्छाउनका लागि ठूला उपकरण मुहानमा लैजान सकिने अवस्था छैन,’ उनले भने, ‘आयोजना स्थलदेखि मेलम्ची बजारसम्म नै सडक अवरुद्ध भएकाले समस्या भइरहेको छ ।’
हेडवक्र्सको मुख्य सरंचनाहरु सबै पुरिएको हुँदा भित्र कति क्षति भयो भनेर भन्न नसकिने उनी बताउँछन् ।
१७ असार २०७८, बिहीवार १५:३५ बजे प्रकाशित