उपप्रधानमन्त्री महतो बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु पुगे

उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो सिन्धुपाल्चोकको हेलम्बु पुगेका छन् । मंगलबार दिउँसो साढे १२ बजे हेलिकोप्टरबाट मन्त्री महतो मेलम्ची तथा हेलम्बु क्षेत्रमा बाढी पहिरोको स्थलगत अवलोकनका लागि पुगेका हुन् ।

 

मंगलवार दिउँसो सिन्धुपाल्चोक पुगेका उपप्रधानमन्त्री महतोले मेलम्ची खानेपानी आयोजनाको ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, हेलम्बु गाउँपालिका लागयतका क्षेत्रहरुको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री महतोले बाढीले तहसनहस पारेको मेलम्ची बजार, हेलम्बु क्षेत्रका साथै हेलम्बुमा पहिरो गएर नदी थुनिएको स्थलको समेत अवलोकन गरेका छन् ।

मेलम्ची तथा हेलम्बुका बाढी प्रभावितहरुसँग छलफल गर्दै मन्त्री महतोले बाढी प्रभावितलाई तत्कालका लागि आवश्यक पर्ने खानेकुरा र अस्थायी बसोबासको व्यवस्थालाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । उनले बाटोघाटो तुरुन्त निर्माण गर्ने र सो क्षेत्रलाई थप क्षति हुनबाट जोगाउने प्रतिबद्धता समेत जनाएका छन् ।

असार १ गते आएको बाढी पहिरोको कारण सिन्धुपाल्चोकको मेलम्ची हेलम्बु लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

छलफलमा उनले भने–‘बाटोघाटो तुरुन्त बनाउनुपर्नेछ, त्यसका लागि अहिले सबैतिरबाट रिर्पोट आइरहेको छ । तुरुन्त गर्नुपर्ने कामहरु के के छन् त्यो काम अहिले नै हामी गर्छौ ।

जसको घरबार गएको छ उनीहरुलाई पुर्नस्थापना गर्नुपर्नेछ । पक्की पुलहरू, झोलुङ्गे पुलहरू बगाएको छ, त्यो गाउँपालिकाको बजेटमा सम्पन्न गर्न सकिँदैन । बाटो सबै बगाएको हामीले देख्यौँ । यी कामहरु तुरुन्त अघि बढाउँछौँ ।’

उनले घर गुमाएकाहरुका लागि एकीकृत बस्ती बसाले ठीक हुने उल्लेख गरे । त्यसका लागि सरकारले आवश्यक योजना बनाएर अघि बढ्ने मन्त्री महतोको भनाई छ । सोही क्षेत्रका सांसद समेत रहेका अर्का मन्त्री शेरबहादुर तामाङले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

मेलम्ची क्षेत्र शहरी विकास मन्त्रालयको पनि कार्य क्षेत्र पर्ने भएकोले त्यहाँको भौतिक पूर्वाधारको क्षतिको अवस्था, नागरिकका समस्या बुझेर आवश्यक योजना बनाउनका लागि स्थलगत अवलोकन गरेको उनका प्रमुख स्वकीय सचिव किशोर साहले जानकारी दिए ।

तस्वीरः उपप्रधानमन्त्री महतोको सामाजिक सञ्जालबाट

८ असार २०७८, मंगलवार १६:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु