व्यवसायी र मजदुरलाई देउराली यातायातले दियो ७३ लाख राहत
७ असार, रुपन्देही । देउराली यातायात अर्घाखाँचीले लकडाउनको मारमा परेका सवारी धनी, चालक र सहचालकलाई ७३ लाख रकम राहत प्रदान गरेको छ ।
समितिमा आवद्ध सवारी साधन धनी र कर्मचारीहरूलाई राहत रकम प्रदान गरिएको संस्थाका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिए । सो समितिअन्तर्गत जीप, हाइस र मिनी माइक्रो गरी एक सय ६०सवारी साधन छन् । वैशाख २० गतेदेखि ती सवारीसाधन चल्न सकेका छैनन् ।
अध्यक्ष बन्जाडेका अनुसार प्रत्येक सवारीधनीलाई ४३ हजार, चालक तथा समितिका कर्मचारीलाई जनही ५ हजार र सहचालकलाई ३ हजारका दरले राहत वितरण गरिएको हो ।
समितिले यातायात संचालन हुने समयको ट्रिपशुल्क रसिदबाट उठेको रकम र नयाँ गाडी दर्ता गर्दा संकलित रकम नै संस्थाको मुख्य स्रोत भएको र त्यही रकमबाट राहत वितरण गरिएको अध्यक्ष बन्जाडेले बताए ।
बन्जाडेका अनुसार गतवर्ष पनि देउराली यातायात अर्घाखाँची प्रा.लिले आफू मातहतका सवारी धनीहरुलाई ५० हजारका दरले राहत वितरण गरेको थियो भने जिल्लाका सबै स्थानीय तहलाई १र१ लाख रुपैयाँ सहयोग गरेको थियो ।
७ असार २०७८, सोमवार १६:३४ बजे प्रकाशित





