उपत्यकाका तीन सिडिओको बैठक बस्दै

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । आज साँझ बस्न लागेको बैठकमा उपत्यकामा जारी निषेधाज्ञाका विषयमा छलफल हुनेछ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आज साँझतिर तीनै जिल्लाका प्रजिअ बीचमा छलफल हुन लागेको बताए । ‘आज छलफल मात्र हुनेछ । भोलि बिहान बसेर निर्णय गर्छौँ । निषेधाज्ञा थप सहज गर्ने गरी छलफल भइरहेको छ’, प्रजिअ निरौलाले भने ।
केही दिन अगाडि बसेको निर्देशक समितिको बैठकले स्मार्ट लकडाउन गर्ने विषयमा निर्णय गरेको थियो । सोही समितिको निर्देशन अनुसार नै उपत्यकाको निषेधाज्ञाका विषयमा थप छलफल हुने प्रजिअ निरौलाले बताए ।
काठमाडौं उपत्यकासहित देशभरका विभिन्न जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण अत्यावश्यकबाहेकका सेवा र व्यापार रोकिएका छन् ।
६ असार २०७८, आइतवार १३:०८ बजे प्रकाशित