काठमाडौं उपत्यकामा ७ देखि १० दिन निषेधाज्ञा थप्ने तयारी

६ असार, काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ ।

उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

‘केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेका छौं’ सीडीओ पराजुलीले  भने, ‘हामीले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका छौं । पछिल्लो समय मृत्यु घटिरहेको छ र अझै केही समय परिस्थितीलाई हेर्नेछौं ।’

अहिलेको निषेधाज्ञाको अवधि असार ७ गते मध्यरातसम्म कायमै छ । सात गते अगाडि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछन् । साथै, प्रशासनले थप आदेश पनि जारी गर्ने तयारी गरेका छन् ।

के-के खुलाउने तयारी छ ?

जिल्ला प्रशासनहरुले संक्रमणको स्थिती हेरेर निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरेका छन् । असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ ।

साथै, ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको छ । नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर, यो विकल्पबारे तत्कालै निर्णय नहुन सक्छ । ‘संक्रमण नबढ्ने गरेर अत्यावश्यक क्षेत्र खुलाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बारे हामी केन्द्रित छौं’ काठमाडौंका सीडीओ पराजुलीले भने ।

ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले अहिले चर्चामा आएजस्तो स्मार्ट लकडाउनबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘हामीले बुझेको स्मार्ट लकडाउन भनेको अहिलेको भन्दा कडा बनाउने हो’ निरौलाले भने, ‘हामी अहिलेकै निषेधाज्ञालाई निरन्तरता दिने पक्षमा छौं ।’

निश्चित क्षेत्र खुलाएर निषेधाज्ञालाई पनि निरन्तर अघि बढाउने तयारी भएको उनले बताए । ललितपुर सीडीओ निरौलाले पनि ७ देखि १० दिन निषेधाज्ञा थप्ने बारे छलफल चलेको बताए ।

६ असार २०७८, आइतवार १०:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु