बाढी पहिरो विपत्तबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बैठक बोलाएका छन् । दिउँसो ४ बजेलाई बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने जनाइएको छ ।
बिहानमात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । कार्यकारी समितिको अध्यक्ष भने गृहमन्त्री हुने व्यवस्था छ ।
गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उनले बताए।
‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ,’ पोखरेलले भने ।
बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी-पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची बजारमा अवस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिस’मा काम गर्दै आएको उदाहरण भएको बताए।
२ असार २०७८, बुधवार १५:०२ बजे प्रकाशित