निषेधाज्ञामा पनि खुल्नेछन यी क्षेत्रहरु (सूचीसहित)
३० जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद एक साता थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ ।
कोरोना भाइरसको जोखिम घटि नसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
खुल्नेछन यी क्षेत्रहरु:
– शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
-अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।
– अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । होटल–रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र अनलाइन होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ ।
-बिहान सात बजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।
-कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने र विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।
-सवारी आवागमनमा लगाइएको रोक यथावत रहेको छ । यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो ।
तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश पाएन ।
१६ वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी छ ।




३० जेठ २०७८, आइतवार १६:२० बजे प्रकाशित





