काठमाडौंको निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका सिडिओ बैठक बस्दै

३० जेठ, काठमाडौं । कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन् ।

निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए ।

उनका अनुसार आइतबार दिउँसो दुई बजे बैठक बस्न लागेको हो । अहिले जारी निषेधाज्ञा सोमबार सकिँदैछ। त्यस अगावै छलफल गरेर आदेश जारी गर्ने प्रशासनको तयारी छ ।

जारी निषेधाज्ञालाई खुकुलो बनाएर एक हप्ता लम्ब्याउनेबारे छलफल हुने सहायक प्रजिअ भट्टले बताए ।

भोलिसम्मको समय छ। अब यो निषेधाज्ञा बढाउने कि के गर्ने भन्नेबारेमा छलफल होला, भट्टले भने, खुकुलो पारेर एक हप्तासम्म बढाउनेबारेमा पनि छलफल हुनेछ। पसलहरू खुल्न दिने कुरा छ ।

हाल जारी निषेधाज्ञामा बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएको छ। अब भने एक घन्टा थपेर १० बजेसम्म खुल्न दिने प्रशासनले तयारी थालेको छ ।

स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भीडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाइ जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ ।

निषेधाज्ञा वा लकडाउन स्थानीय प्रशासन ऐनअन्तर्गत जारी गरिने गरिएको छ ।

यसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र रहन्छ । त्यसमा स्थानीय निकाय, स्वास्थ्यका प्रतिनिधिलगायत सरोकारवालाहरू रहन्छन् ।

३० जेठ २०७८, आइतवार १२:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु