फेरि गैँडाको चोरी सिकार

गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो ।
छलफलमा काराबास भुक्तान गर्नेले गैँडा संरक्षणमा आफ्ना योजना सुनाइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई खबर आयो ‘चोरी सिकारीले मारेको गैँडाको माउ र बच्चा केटा भेटियो ।’
पछिल्ला केही वर्षयता निकुञ्जले चोरी सिकार शून्य वर्ष मनाउँदै आएको बेला यो वर्ष निरन्तर दुखद खबर आएपछि संरक्षणकर्मी आत्तिएका छन् ।
गलेर पोस्टमार्टम गर्न नसकिने अवस्थामा माउ र केटा एकै ठाउँमा मृत भेटिएका हुन् ।
प्रमुख संरक्षण अधिकृत बराल भन्छन्, ‘माउको खाग काटेर लगेकाले त्यो चोरी सिकारीले मारेकै हो भन्न कठिन भएन।’
झन्डै तीन महिनाअघि ती माउ र बच्चा मारेको अनुमान निकुञ्जको छ । त्यो बेला निकुञ्जभित्र गोली चलेको थियो ।
निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने लखौनी क्षेत्रमा नेपाली सेनाको गस्ती टोलीले कुहिएको अवस्थाका ती गैँडा फेला पारेको हो ।
भर्खरै बच्चा जन्माएर सुत्केरी अवस्थामै रहेको गैँडाको माउ मारेपछि त्यो सानो बच्चा पनि मरेको हुनसक्ने निकुञ्ज सुरक्षाकर्मीको अनुमान छ ।
अघिल्लो दिन माउ र बच्चाको मृत शरीर व्यवस्थापन गर्न नपाउँदै निकुञ्जकै पश्चिमी क्षेत्रमा नै बिहीबार खागविहीन अवस्थामा थप गैँडाको अस्थिपञ्जर भेटियो ।
‘त्यो गैँडा पाँच/छ महिनाअघि मारेर फालेको हुनुपर्छ । खागविहीन अवस्थामा भेटिएको मृत गैँडाको हाडखोर मात्रै छ’ बरालले भने ।
२२ कात्तिक २०७७, शनिवार ०८:३७ बजे प्रकाशित