१० लाख बढि आप्रवासी युरोप प्रवेश गरिसके
पुस १५ – यो वर्ष समुद्री मार्ग भएर युरोप प्रवेश गर्नेको आप्रवासीको संख्या १० लाख नाघेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसिआरले यो वर्षको सुरुदेखि अहिलेसम्म समुद्री मार्ग भएर युरोप प्रवेश गर्ने आप्रवासीको संख्या १० लाख नाघेको जनाएको छ । युरोप प्रवेश गर्ने मध्ये ८० प्रतिशत आप्रवासी ग्रिसको बाटो भएर आएको युएनएचसिआरले जनाएको छ । लिसबोस आइसल्याण्ड हुँदै ग्रिस भएर १० लाख पाँच सय ७३ जना आप्रवासी युरोप प्रवेश गरेका छन् । ग्रिस आउने मध्ये आठ लाख ४४ हजार टिर्की भएर तथा एक लाख ५० हजार भन्दा धेरैले लिबिया तथा इटाली भएर समुद्र पार गरेको युनएचसिआरले जनाएको छ । युरोपमा आप्रवासीको प्रवाह यो वर्ष दोस्रो विश्व युद्धपछि कै सबै भन्दा धेरै रहेको छ । गएको वर्ष समुद्री मार्ग भएर दुई लाख १६ हजार आप्रवासी युरोप प्रवेश गरेका थिए । अन्तर्राष्ट्रिय संरक्षणको खोजी तथा आफ्नो देशमा रहेको युद्ध, हिंशा तथा उत्पीडनबाट बच्नका लागि उनीहरु समुद्रको खतरनाक बाटो प्रयोग गरेर युरोप प्रवेश गरेको युएनएचसिआरले जनाएको छ । समुद्री बाटो भएर युरोप प्रवेश गर्नेमा झण्डै आधा सिरियाका नागरिक छन् । यसरी युरोप प्रवेश गर्नेमा सिरियाका मात्रै ४९ प्रतिशत तथा अफगानिस्तानका २१ प्रतिशत छन् । त्यसक्रममा समुद्रमा डुबेर ज्यान गुमाउने तथा बेपत्ता हुनेको संख्या तीन हजार सात सय ३५ पुगेको छ ।
१५ पुस २०७२, बुधवार ०४:०० बजे प्रकाशित