नेपालमा नदोहोरिउन् मन्टोका कथाहरू

– अजय दीक्षित
अमृतसरबाट लाहोर जाँदाजाँदै ट्रेनमा बाबु र छोरी छुट्टिए । छोरी खोज्दै बाबु लाहोरको अस्पताल पुग्यो । धेरै पल्ट बलात्कृत भएकी एक विरामी युवती स्ट्रेचरमा लडेकी थिइन् । ती विरामीको हात हेर्दै गरेको डाक्टर उज्यालो आओस् भनेर बाबुलाई ‘झ्याल खोल’ भन्छ । ‘खोल’ भन्ने शब्द सुन्ने वित्तिकै युवती आफ्नो सलवारको इजार फुकाल्दछिन् र तिघ्रा तेस्र्याइदिन्छिन् । बाबु त्यो देख्दैन, चिच्याउँदछ मात्र “मेरी छोरी ज्यूँदै रहिछ ।”

भारत पाकिस्तान विभाजन हुँदा भएको हिंसाको परिवेशमा लेखिएको उर्दू कथा ‘खोल दो’ को अंश हो यो । यसका लेखक हुन् सदाअत हसन मन्टो । नयाँ दिल्लीमा सन् १९९८ मा उनको स्मृतिमा आयोजित एउटा व्याख्यान कार्यक्रममा सहभागी भएपछि मन्टोको नाम र कामसँग मेरो परिचय भयो । ‘खोल दो’ को यो अंश सुन्दा म थरर्र कामेको थिएँ, कथाकी ती युवतीको पीडाको कल्पनाले । भारत विभाजन अघि र पछि काङ्ग्रेस, मुस्लिम लीग र बेलायती सरकारको राजनीतिक चलखेलबाट शुरु भएको विभाजन हिंंसामा कति मानिसको कत्लेआम भयो, सही आकडा छैन ।

शताब्दीयौँ एक–अर्कासँग मिलिजुली बसेकाहरू पागल भए । साथीले साथी अनि छिमेकीले छिमेकी मा¥यो । शहर, गाउँ, टोल–टोलमा मानिसहरू गोलीका शिकार भए, काटिए, गिँडिए, जिउँदै जलाइए । केटाकेटी र बुढाबुढी छुट्टिएनन् । छुट्टियो केवल धर्म । विभाजनको बलिवेदीमा दुवै तर्फका हजारौँ महिलाहरू बलात्कृत भए, मारिए अनि अपहरित भए । बुद्धि विवेक सब थोक हरायो । त्यसबेलाको हिंसा र मानवीय व्यवहारका आफ्ना अनुभूति मन्टोले कथामा कोरे ।

कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई । ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो । न धन थियो न काठमाडौंमा अडिने ठाम । तर पढ्दा पढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो । सम्बन्ध विस्तारै मायामा फेरियो । हेर्दा हेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो ।
उनका कथाले देश विभाजन र हिंसाको त्रासदीलाई वाद, धर्म वा राजनीतिको आँखाले हेरेनन् । उनले देखे केवल हत्यारा र निहत्था । हिंसाको उन्मादले मानव हृदयलाई पत्थर सरह बनाउने रहेछ । तर पनि मानवता मर्दो रहेनछ । मन्टोका कथामा दुवै पक्ष पाइन्छन् । नेपाली साहित्य विधामा मन्टोका जस्ता कथाहरू देखिएका छैनन् । तर नेपाली छापाहरूमा हिंसाको आगोमा बल्दै गरेका परिवार र आफन्तहरूको पीडाको विवरण बढ्दो छ ।

देश विभाजनताकाको हृदयस्पर्शी पीडालाई समेट्ने कृतिहरूका अलावा मन्टोले एक नेपाली नर्तकीको बारेमा पनि निबन्ध लेखेका छन्ः “सिताराः नेपालकी बघिनी नर्तकी ।” काठमाडौँबाट बम्बै पुगेकी सितारादेवी सन् ४० को दशकमा त्यहाँ नृत्याङ्गनाको रूपमा कार्यरत थिइन् । मन्टोको निबन्धले सितारादेवीको नृत्य प्रति समर्पणको प्रशंसा गर्दै, तिनको अत्यन्तै कामुक जीवन प्रसङ्ग खोल्दछ । तर यो निबन्ध लेख्दा मन्टो अर्कै परिस्थितिमा पुगिसकेका थिए, उनी ‘खोल दो’ का कथाकार थिएनन् । विभाजनपछि बम्बैमा अक्कासिँदै गएको असहिष्णुता खेप्न नसकी मन्टो पाकिस्तानमा पर्न गएको लाहोर शहरमा बस्न थाले जहाँ उनले विभाजन र हिंसाबारे थुप्रै कथाहरू लेखे । लाहोरमै बस्दा लेखिएका उनका दुई कथा, “ठन्डा गोश्त” र “खोल दो” लाई त्यहाँको सरकारले ‘अश्लील’ संज्ञा दिएपछि, विभाजन र हिंसाको बारेमा नलेखेर आफूले चिनेका फिल्मी व्यक्तित्वहरूका बारे निबन्धहरू लेखे । लाहोरमा धर्मपत्नी र दुई छोरीहरूसित मन्टोको जिन्दगी अत्यन्तै गाह्रोसँग बित्योे । विरामी र लाचारीमा मन्टोको ४३ वर्ष नपुग्दै सन् १९५५ मा मृत्यु भयो ।

विभाजन–हिंसाको सेरोफेरोमा लेखिएका ‘ठन्डा गोश्त’ र ‘खोल दो’ का साथै मन्टोका अन्य ४८ वटा उर्दूमा लेखिएका कथा र लघु कथाहरू खालिद हुसेनले ‘मोटल्ड डन’ शीर्षक दिएर अङ्ग्रेजीमा प्रकाशित गरेका छन् । ‘ठन्डा गोश्त’ मा हिंसाको उन्मादमा चुर्लुम्म डुबेको व्यक्तिको पाशविक मनस्थितिको डरलाग्दो रुपलाई मन्टोले यसरी शब्दमा उतारेका छन्ः ईश्वरसिंह केही दिनदेखि आफ्नी तरुनी रखैलकोे संसर्गमा थिएन । कलवन्त कौर ईश्वर अरूसित सल्केको शङ्का गर्दछे । एक रात कलवन्तको अथक प्रयास बावजूद ईश्वर प्रेमक्रीडालाई तयार भएन । रिसाएकी कलवन्तले ईश्वरको कृपाण (सानो तरवार) उसकै गर्धनमा रोपी दिई । भल्भली रगत बग्दै गरेको ईश्वर आफ्नो लाचारी सकार्न थाल्योः “हामीले खूब लुटमार ग¥यौँ । एउटा घरमा ७ जना थिए । मैले ६ जना लोग्नेमान्छेहरू मारेँ । एउटी खुव राम्री तरुनी थिई । उसलार्ई उठाएर नहरको किनारमा लगेँ । त्यहीँको चौरमा सुताएर मैले उसलाई बलात्कार गरेँ । पछि मलाई थाहा भो, ऊ त मरिसकेकी रहिछ । मैले लास बोकेर लगेको रहेछु ।” बोल्दाबोल्दै ईश्वरको हात चिसो भइसकेको थियो ।

पशु सरह भएको त्यो पात्रले युवती बारे कुनै चासो नै राखेन । भोग्यबस्तु भन्दा बढी भइनन् ती । मन्टोको अर्को कथा ‘काम’ ले दङ्गा र हिंसाको स्थितिमा पनि मानवीय पक्ष नमरेको सत्य दर्शाउँछः पक्षघातले आधी जीउ नचल्ने भएका न्यायाधीश अव्दुल मियाँ इन्तु न चिन्तु थिए । जताततै फैलिएको दङ्गाले गर्दा उनकी तरुनी छोरी निकै आत्तिएकी थिई ।

रात भइसकेको थिएन, ढोकामा खटखट सुनियो । एक सरदारजी उभिएको थियो ढोका बाहिर । “म सरदार गुरुमुख सिंहको छोरा सन्तोख हुँ” उसले भन्यो । “सरदारजीको एक महिना अघि देहान्त भयो । मर्नुअघि न्यायाधीश साहेबको घरमा आफूले इदमा पु¥याउने गरेकोे सेवई (खीर) पु¥याई दिनु भन्नुभएको थियो । मृत्यु शैयामा बाबुलाई दिएको वचन पूरा गर्न म आएको हुँ” उसले थप्यो । न्यायाधीशकी छोरी भावविह्वल भई । उसका आँखाबाट बरर्र आँसु झ्रे । बाटोमा पुगेपछि सन्तोखले फेटाले मुख ढाकेका चारजना मान्छेहरू भेट्यो । उनीहरूले मसाल, मट्टितेलको जर्किन र बारुद लिएका थिए । एउटाले सोध्यो, “सरदारजी त्यो घरमा तिम्रो काम सकियो ?” सन्तोखले ‘हो’ मा टाउको हल्लायो । “हामी आफ्नो काम गरौँ ?” अर्कोले सोध्यो । “तपाईंको इच्छा” भन्दै सन्तोख आफ्नो बाटो लाग्यो ।

भारत–पाकिस्तान विभाजनको हिंसाअघि पनि दोस्रो विश्वयुद्धताका बीसौं लाख निर्दोष मान्छेलाई नाजीहरूले मारेका थिए । योजनाबद्ध रूपमा एक सक्षम राज्यले जानीबुझ्ी गरेको हिंसा थियो त्यो । विश्वास गरेका थिए मारिनेहरूले जर्मनीको सरकारलाई । ग्याँस च्याम्बरमा कुनै दिन मान्छे लिएर आउने ट्रेन अबेर हुँदा, मार्ने कामदारहरू सुस्केरा हाल्थे रे, “खोई आज त ट्रेन आइनै पुगेन ।” मन्टोका लघु कथाहरूमा नरसंहार गर्दागर्दै मेशिन जस्तै हुन पुगेकाहरू पनि समेटिएका छन् । उनको एउटा कथा केवल दुई हरफको छ, दङ्गाको क्रममा मान्छे मार्दै हिँडेका दुई व्यक्तिहरूको वार्तालापको रूपमाः

पहिलोः ‘त्यो मरेको छैन, अझ् प्राण बाँकी छ ।’ दोस्रोः ‘म सक्दिनँ, म थाकेर चूर भइसकेँ । नम्रता शीर्षकको कथाले यस्तै मनस्थिति बताउँछः दङ्गाकारीहरूले ट्रेन रोके । विधर्मीहरूलाई क्रमैसँग छुट्याइयो र कत्लेआम गरियो । बाँकी रहेका सधर्मीहरूलाई दूध, खीर र ताजा फलफूलको भोज ख्वाइयो । रेल गुड्नुअघि हत्याराका नाइकेले छोटो बिदाई भाषण गरेः “प्रिय दाजुभाइ, दिदीबहिनीहरू तपाईंहरूको रेल आइपुग्ने समय हामीलाई थाहा नभएको हुँदा हामीले योभन्दा राम्रो सत्कार गर्न सकेनौं, हामीलाई अझ् बढी सत्कार गर्न मन थियो। ।” अर्को लघु कथा होः “मेरी छोरीलाई मेरो अगाडि नमार ।” –“ठीक छ, ठीक छ यसको लुगा फुकाल्दे र अरू केटीहरू भएको ठाउँमा पु¥याइदे ।”

देश विभाजनको हिंसा र पीडाको वरिपरि रहेर लेखिएका कथाहरूले मानवलाई मानवको रूपमा मात्रै हेर्ने अनि धर्ममा आधारित हिंसालाई प्रश्न गर्ने अत्यन्त संवेदनशील र सही अर्थमा महात्मा गान्धीको अनुयायीको रूपमा मन्टोलाई प्रस्तुत गर्दछ । पाँच दशक अघि भारत पाकिस्तान विभाजन हँुदाको हिंसात्मक दुर्घटनाका कथाहरूले त्यसबेलाको समाजले कुन हदसम्म विवेक गुमाएको थियो भन्ने वास्तविकता सम्झउँछन् ।

मन्टोका कथामा हिंसा, धर्म, जातजाति र वादको अहङ्कारबाट मुक्त समाज चाहियो भन्ने चित्कार सुनिन्छ । राज्यव्यवस्था सञ्चालनमा आफ्नो निर्णय सर्वोपरि हुन्छ भन्ने विश्वास प्रतिबिम्बित गर्दै ११ वर्षअघि नेपालीले राजनीतिक परिवर्तन ल्याए । त्यो परिवर्तनको आकांक्षालाई क्रियाशील बाटो दिन राजनीतिक, सामाजिक, बौद्धिक नेतृत्वपङ्क्ति अक्षम देखियो । अकर्मण्यताले नेपाली समाजलाई जोड्ने तन्तुहरूलाई बलियो पार्नु भन्दा विस्तारै–विस्तारै कमजोर पार्दैछ । २०४६ सालको परिवर्तनमा अत्यन्तै क्रियाशील भूमिका खेल्ने नेपाली शिक्षित समाज अरूको मात्रै त्रुटि कोट्याउने, आफ्नो दोष नदेख्ने रोगले ग्रस्त छ, आफ्नो दायित्व बिर्सँदैछ र समस्याको थालनी पनि यहीँबाट भएको हो ।

सन् १९४० दशकको भारतको त्यान्द्रो छिनेको जस्तै वर्तमानको नेपालमा पनि केही, कतै चुँडिन खोजेको भान हुन थालेको छ । आजको यस्तो विषम स्थितिमा आइपुग्दा त परिवर्तनका शालीन सम्भावना खोज्न हामीहरू तयार छैनौँ । गन्तव्यहीन देखिन थालेको हाम्रो अहिलेको राजनीतिक परिवेश पनि हिंसालाई नै निकासको माध्यम मान्न थालेको अनुभव हुन्छ ।

खास थर भएको नेपालीको हातबाट उही थर भएको अर्को नेपालीको प्राण हरिने हिंसाको बर्बरताले नेपाली साहित्यका लेखकहरू आजित हुने स्थिति नआओस् । सदाअत हसन मन्टोका कथाहरू हृदयविदारक छन् तर ‘मास्टर पिस’ छन् । हाम्रो भावी पुस्ताले चाहिँ त्यस्तै नेपाली साहित्य पढ्नु नपरोस् ।

हिमालखबरबाट साभार, आवरण तस्वीरः रेकर्ड नेपाल

१९ चैत २०७४, सोमवार १५:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु