ऊर्जामन्त्री शर्मा पश्चिम सेती प्रभावित क्षेत्रमा
डोटी, १ फागुन । ऊर्जामन्त्री जनार्दन शर्माले आज पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका थिए । बैतडीको ढुङ्गाढमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले पश्चिम सेती आयोजना बन्नेमा ढुक्क हुन प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गर्नुभयो ।
“आयोजनाका विषयमा सरकार गम्भीर छ, तपाईहरु ढुक्क हुनुस्, पश्चित सेती बन्छ”– उहाँले भन्नुभयो । आयोजना निर्माणका क्रममा आउनसक्ने सम्पूर्ण अवरोध सरकारले हटाएको तथा सेयरको विषयमा टुङ्गो लागिसकेको मन्त्री शर्माले बताउनुभयो । विस्थापितलाई उचित मुआब्जा उपलब्ध गराएर सुविधा सम्पन्न सहरमा पुनःस्थापना गरिने उहाँको भनाइ थियो ।
मन्त्री शर्माका साथमा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्ट र ऊर्जा सचिव अनुपराज उपाध्याय रहनुभएको थियो । उक्त अवसरमा प्रभावित क्षेत्रका बासिन्दाले पश्चिम सेती परियोजना निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए । उनीहरुले आफूहरु सो परियोजना बन्नेमा आशावादी रहेको बताएका थिए । रासस
१ फागुन २०७३, आइतवार १५:५४ बजे प्रकाशित